जनता टाइम्स

२ माघ २०८०, मंगलवार ११:२०

६ महिनामा ४८ अर्ब घाटामा सरकार : राजस्व, पुँजीगत खर्च र वैदेशिक सहयोगको अवस्था पनि नाजुक


काठमाडौं, माघ २ । चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात साउनदेखि पुससम्ममा सरकारी खाता (वित्त) करिब साढे ४८ अर्ब रुपैयाँले घाटामा देखिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयले जनाएअनुसार पुस मसान्तसम्ममा पाँच खर्ब १८ अर्ब १५ करोड आम्दानी गरेको छ भने यो अवधिमा पाँच खर्ब ६६ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको छ । जसमा पुँजीगत खर्च करिब १६ प्रतिशत मात्र रहेको छ ।

आर्थिक वर्षमा कुल १४ खर्ब ७२ अर्ब ४८ करोड बराबर राजस्व उठाउने लक्ष्य राखेको सरकारले पुस मसान्तसम्म ४५ प्रतिशत अर्थात् ६ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, वार्षिक लक्ष्यको ३५.१९ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । गत वर्षको यही अवधिमा सरकारको आम्दानी ३२.९५ प्रतिशत थियो ।

यो वर्ष विदेशी विनिमय सञ्चिति, शोधनान्तर, चालु खाता, रेमिट्यान्स आप्रवाहलगायत बाह्य सूचक निरन्तर बलियो भइरहेको, वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, ब्याजदर घटिरहे पनि सरकारी वित्तको अवस्था अझै नाजुक रहेको हो । यो वर्ष लक्ष्यअनुसार राजस्व संकलन नभएको मात्र होइन, पुँजीगत खर्च र वैदेशिक सहयोग तथा अनुदानको अवस्था पनि नाजुक छ । सरकारले चालु आर्थिक वर्षका लागि कुल ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान प्राप्त हुने लक्ष्य राखेकोमा गत पुससम्म ५.५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड मात्र प्राप्त भएको छ ।

यो ६ महिनामा सरकारको समग्र खर्च ३२.३५ प्रतिशत छ । चालु आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड खर्च गर्ने लक्ष्य राखेको सरकारले पुस मसान्तसम्ममा पाँच खर्ब ६६ अर्ब ६२ करोड १३ लाख खर्च गरेको छ । चालु शीर्षकमा कुल ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर बजेट छुट्याइएकोमा ३८.३१ प्रतिशत अर्थात् चार खर्ब ३७ अर्ब ३८ करोड रुपैयाँ खर्च भएको छ ।

चालु खर्चको तुलनामा विकास निर्माणलगायतका क्षेत्रमा जाने पुँजीगत खर्चको अवस्था भने अत्यन्त निराशाजनक छ । यस वर्ष पुँजीगत खर्च शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड विनियोजन भएकामा आधा वर्ष बितेर जाँदा १६.३ प्रतिशत अर्थात् ४९ अर्ब २४ करोड खर्च भएको छ ।