जनता टाइम्स

४ आश्विन २०७६, शनिबार ०८:२१

एकता टुंगोमा लगाउन नेकपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा


काठमाडौं, असोज ५

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटार अपरान्ह ३ बजे बस्ने बैठकले एकता प्रक्रियाका बाँकी काम टुंगोमा पु¥याउने तयारी गरिएको छ ।

नेकपाले एकता प्रक्रियाका मुख्य काम स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश कमिटी तथा जिल्ला र स्थानीय तहको एकता प्रक्रियालाई टुंग्याइसकेको छ। यद्यपि जेष्ठ कम्युनिस्ट मञ्च, अनुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठनको काम भने बाँकी छ। त्यस्तै, पोलिटब्युरो गठन पनि गर्न बाँकी छ। बैठकले महत्वपूर्ण मानिएका पार्टीका ५ केन्द्रीय आयोगको जिम्मेवारीसमेत तोक्न सक्नेछ।

यसैगरी केन्द्रीय विभागहरुलाई पनि पूर्णता दिने तयारी भईरहेको एक सचिवालय सदस्यले जानकारी दिनुभयो । यसैगरी आजको बैठकमा प्रदेश–२ नेकपामा देखिएको विवादका विषयमा पनि छलफल हुने बताएको छ । सो प्रदेशमा एकले अर्को पक्षलाई कारवाहीका लागि केन्द्रलाई पत्र पठाएपछि विवाद उत्कर्षमा रहेको छ । यसअघि अध्यक्ष केपी शर्मा ओलीको व्यस्तता र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अस्वस्थताका कारण बिहीबारको बैठक स्थगित गरिएको थियो ।

यसैविच, नेकपाले संसदीय दलको बैठक बोलाएको छ । आजै मध्यान्ह १२ बजे बोलाइएको बैठकमा बर्खे अधिवेशनको समिक्षा र अब चाडबाड शुरु भएकाले गाउँगाउँ गएर जनताका समस्या बुझ्न अध्यक्षद्वयले निर्देशन दिने कार्यक्रम रहेको बताइएको छ ।