काठमाडौं, माघ ३ । साहस ऊर्जा लिमिटेडले टाइम्स इनर्जीसँग भएको तीन सय ४१ मेगावाटको बुढीगण्डकी अर्धजलाशययुक्त (पिआरओआर) आयोजनाको लाइसेन्स खरिद गरेको छ ।
गत हप्ता मात्रै टाइम्स इनर्जीले विद्युत विकास विभागबाट आयोजनाको निर्माण अनुमतिपत्र (लाइसेन्स) पाएको थियो । त्यसलगत्तै कम्पनीले झन्डै दुई अर्बमा आयोजनाको लाइसेन्स बिक्री गर्ने सम्बन्धमा आइतबार साहस ऊर्जासँग सम्झौता गरेको हो ।
साहस ऊर्जाका प्रबन्ध निर्देशक सुशील थापा र टाइम्स इनर्जीका सञ्चालक दीपककुमार मलहोत्राले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।त्यसलगत्तै टाइम्स इनर्जीले आयोजनासम्बन्धी आवश्यक कागजपत्र साहस ऊर्जालाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । अब आवश्यक प्रक्रिया पूरा गरेर लाइसेन्स पनि साहस ऊर्जाकै नाममा नामसारी गरिनेछ । केही सातामा आयोजना टेक ओभरको प्रक्रिया टुंग्याउने कम्पनीको तयारी छ । अब साहस ऊर्जाले यो आयोजना निर्माण गरेर सञ्चालन गर्नेछ ।
साहस ऊर्जा निजी क्षेत्रबाट हालसम्मकै ठूलो जलविद्युत आयोजना सञ्चालन गरेको कम्पनी हो । सो कम्पनीले ०७९ माघबाट ८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजना सञ्चालनमा ल्याएको छ, जुन निजी क्षेत्रबाट सञ्चालनमा आएको सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । ०७९ फागुन २३ गते काठमाडौंमा आयोजित सोलुखोला आयोजनाको उदघाटन समारोहमा कम्पनीले अब पाँच सय मेगावाटसम्मको जलविद्युत् आयोजना बनाउने घोषणा गरेको थियो । त्यसको झन्डै एक वर्षमा कम्पनीले तीन सय ४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना टेक ओभर गर्न लागेको हो ।
आयोजनाको लाइसेन्स खरिद गर्ने सम्झौता गरेसँगै साहस ऊर्जाले एक वर्षमा निर्माण सुरु गर्ने योजना बनाएको छ । कम्पनीका अध्यक्ष हिम पाठकले बाँकी कामहरू सम्पन्न गरेर एक वर्षमा निर्माण सुरु गर्ने बताउनु भयो । टाइम्स इनर्जीले यसअघि नै आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन र सम्भाव्यता अध्ययन गरिसकेको छ ।
विस्तृत परियोजना प्रतिवेदन पनि अन्तिम चरणमा रहेको छ । अब साहस ऊर्जाले आयोजनाको अद्यावधिक अध्ययन गर्नेछ । यसका अलावा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पनि सरकारबाट स्वीकृत हुने चरणमा छ । साथै, नेपाल विद्युत् प्राधिकरणसँग गरिने विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) पनि अन्तिम चरणमा छ, हाल यससम्बन्धी प्रस्ताव विद्युत् नियमन आयोगमा पुगेको छ ।
आयोजनामा लगानी जुटाउन स्वदेशी बैंकहरूसँग छलफल अघि बढाइसकिएको कम्पनीले जनाएको छ । त्यो अवस्थामा एक वर्षभित्र निर्माण सुरु गर्न सकिने अध्यक्ष पाठकले बताउनु भयो । आयोजनाको अनुमानित लागत ६५ अर्ब रहेको छ । साहस ऊर्जाले अद्यावधिक अध्ययन गर्दा यो लागत संशोधन हुने सम्भावना छ । त्यसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजीका रूपमा लगानी गर्ने कम्पनीको योजना छ ।
यस्तो बन्नेछ आयोजना
अर्धजलाशययुक्त प्रकृतिको यो आयोजना गोरखास्थित धार्चे गाउँपालिकाको वडा नम्बर १ र ३ तथा चुमनुव्री गाउँपालिकाको वडा नम्बर ३ मा बन्नेछ । आयोजनामा तीन सय ९८ मिटर लामो हेड, ६ किलोमिटर लामो सुरुङ, भूमिगत पावर हाउस, ६०.४३ मेगावाट क्षमताका ६ टर्बाइन हुनेछन् । ड्याममा १७ लााख ६० हजार घनमिटर पानी भण्डारण हुनेछ । त्यसबाट दैनिक ६ घण्टासम्म पूर्ण क्षमतमा विद्युत् उत्पादन गर्न सकिनेछ ।
आयोजनाबाट वार्षिक औसत १,८३६ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । आयोजनाको डिजाइन डिस्चार्ज १००.२५ घनमिटर प्रतिसेकेन्ड छ । आयोजनाको लगानी प्रतिफल १३.८१ प्रतिशत हुने अनुमान गरिएको छ । सम्भाव्यता अध्ययनअनुसार आयोजना सञ्चालनमा आएको साढे पाँच वर्षमा साधारण लगानी फिर्ता गर्न सकिने कम्पनीको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्