जनता टाइम्स

४ आश्विन २०७६, शनिबार ०९:४४

राष्ट्रपति भण्डारीलाई चिनियाँ समकक्षी सी को टेलिफोन


काठमाडौं, असोज ४

राष्ट्रपति विद्यादेवी भण्डारीलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले टेलिफोन गरी नेपालसँग सहयोग र साझेदारी गहिरिँदै गएको बताउनु भएको छ । नेपालको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोनबाट शुभकामना सन्देश दिने क्रममा यस्तो धारणा राख्नु भएको हो ।

निकट भविष्यमै नेपाल आउने अपेक्षा गरिएका चिनियाँ राष्ट्रप्रमुखको नेपाली समकक्षीसँग विरलै फोनवार्ता हुने गरेकामा यसलाई अर्थपूर्ण मानिएको छ । चिनियाँ सञ्चार माध्यमका अनुसार राष्ट्रपति सीले दुई देशको सम्बन्ध विकासमा चीनले उच्च ध्यान दिएको बताउँदै राष्ट्रपति भण्डारीसँग मिलेर चीन–नेपालबीच सहयोग र साझेदारीलाई अझै गहन पार्ने उल्लेख गर्नुभएको थियो । चिनियाँ लिपिमा उल्लिखित समाचारमा उहाले युगौंयुगदेखिको नेपाल–चीन मैत्री सहयोग र साझेदारी सम्बन्ध गहिरिँदै आएको पनि उल्लेख गरिएको छ । सीले भविष्यमा यो सम्बन्ध अझै गहन पारेर दुवै देश र जनताका लागि धेरै फाइदा ल्याउने जनाउनु भएको छ ।

टेलिफोन वार्ताका क्रममा सी ले राष्ट्रपति भण्डारीको गत वैशाखमा भएको चीनको राजकीय भ्रमणको स्मरण समेत गर्नुभएको थियो । ‘यस वर्षको अप्रिलमा राष्ट्रपति भण्डारीले चीनको सफल राजकीय भ्रमण गरेबाट दुई मुलुकको सम्बन्धमा बढोत्तरी भएको छ’, उहाको भनाई छ । राष्ट्रपति सीले समकक्षी भण्डारीको भ्रमणले विभिन्न क्षेत्रको आदानप्रदान र सहयोगमा नयाँ जीवन्त शक्ति थपेको धारणा पनि राख्नु भएको थियो ।

विश्वका ठूला घटना, भ्रमणको पूर्वसन्ध्या वा विगतका सहमतिबारे पुनःस्मरण गराउने हेतुले चिनियाँ राष्ट्रपति सीले विदेशी राजनेताहरूसँग टेलिफोन वार्ता गर्ने गर्नुभएको छ । समाचारमा राष्ट्रपति सीको आसन्न नेपाल भ्रमणको विषय उल्लेख नभए पनि भविष्यमा अझै घनिष्ठ सम्पर्क राख्ने भनिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अक्टोबर दोस्रो साता हुने भेटवार्ताका क्रममा सीले नेपालको भ्रमण गर्ने कुरा प्रकाशमा आइसकेको छ ।

यस्तै चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनले अघि सारेको बेल्ट एन्ड रोड (बीआरआई) को अवसर छोपेर चीन र नेपालबीचको सहकार्यलाई तीव्र बनाउन चाहेको बताउनु भएको छ । नेपालको राष्ट्रिय दिवसमा प्रधानमन्त्री केपी ओलीलाई पठाएको शुभकामना सन्देशमा उहाले भन्नुभएको छ, ‘नेपालका प्रधानमन्त्रीसँगै मिलेर बीआरआईको प्रारूपमा चीन–नेपाल सहयोगको चौतर्फी विकासलाई अघि बढाउन इच्छुक छौं ।’