जनता टाइम्स

४ आश्विन २०७६, शनिबार १६:२४

नेकपाको सचिवालय बैठक सुरु, यी छन एजेण्डा


काठमाडौं, असोज ४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा पार्टी एकतालाई पुर्णता दिने एजेण्डा राखिएको छ ।

नेकपाले एकता प्रक्रियाका मुख्य काम स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश कमिटी तथा जिल्ला र स्थानीय तहको एकता प्रक्रियालाई टुंग्याइसकेको छ । तर अझै जेष्ठ कम्युनिस्ट मञ्च, अनुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठनको काम भने बाँकी छ । यसैगरी प्रवास कमिटीको एकता पनि टुंगो लाग्न बाँकी रहेको छ । त्यस्तै, पोलिटब्युरो गठन पनि गर्न बाँकी छ । बैठकले महत्वपूर्ण मानिएका पार्टीका ५ केन्द्रीय आयोगको जिम्मेवारीसमेत तोक्ने सक्ने बताइउको छ ।

यसैगरी केन्द्रीय विभागहरुलाई पनि पूर्णता दिन बाँकी रहेको छ । बिभाग प्रमुख, उपप्रमुख तोक्ने काम भएपनि पुर्णता पाउन बाँकी रहेको हो । यसैगरी आजको बैठकमा प्रदेश–२ नेकपामा देखिएको विवादका विषयमा पनि छलफल हुने एजेण्डा रहेको छ । सो प्रदेशमा एकले अर्को पक्षलाई कारवाहीका लागि केन्द्रलाई पत्र पठाएपछि विवाद उत्कर्षमा रहेको छ । आजको बैठकबाट सकेसम्म एकताको सवै काम टुंगो लगाउने तयारी रहेको छ ।