जनता टाइम्स

७ माघ २०८०, आईतवार १६:४८

मलेसिया जाने नेपाली कामदारसँग ४५ डलर असुल्ने सम्झौता कार्यान्वयन नगर्न निर्देशन


काठमाडौं, माघ ७ । प्रतिनेपाली कामदार ४५ अमेरिकी डलर उठाउने वैदेशिक रोजगार बोर्ड र मलेसियास्थित नेपाली दुतावासको योजना तुहिएको छ । परराष्ट्र मन्त्रालयले एक मलेसियन कम्पनीसँग बोर्डले गरेको सम्झौतालाई अस्वीकार गरेपछि योजना तत्कालका लागि तुहिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यो सम्झौतालाई कार्यान्वयन नगर्न लिखित निर्देशन नै दिइसकेको छ भने परराष्ट्रले अस्वीकार गरेको छ । यो निर्णयसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बोर्डलाई पत्र पठाएको छ ।

‘नेपाली श्रमिकहरुको राहत, उद्धारलगायतका कल्याणकारी कार्य गर्ने विषयमा भएको सम्झौता विभिन्न सरोकारवालासँग थप छलफल गरेर मात्रै टुंगोमा पुग्न आवश्यक भएकाले हाललाई उक्त सम्झौता कार्यान्वयन नगर्न निर्देशन भएको हुँदा सोहीअनुसार आवश्यक कार्यान्वयनका लागि आदेशानुसार अनुरोध छ,’ बोर्डलाई पठाइएको पत्रमा मन्त्रालयले भनेको छ ।

गत मंसिर २० गते बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती र मलेसियाको निजी कम्पनी ‘फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर’ का महानिर्देशक तानासिलिन दिन्रेनगानले हस्ताक्षर गरी संझौता गर्नुभएको थियो । सम्झौता पुस १६ (जनवरी १) देखि कार्यान्वयनमा आउने गरी ५ वर्षका लागि गरिएको थियो । परराष्ट्र मन्त्रालयले यो सम्झौता कार्यान्वयन नगर्न भनिसकेको छ ।

अपारदर्शी रूपमा गरिएको सम्झौता बाहिरिएलगत्तै मलेसिया सरकार र रोजगारदाताले समेत आपत्ति जनाएका छन । त्यहाँको परराष्ट्र मन्त्रालयले शुक्रबार मलेसियाका लागि नेपाली राजदूत डिल्लीप्रसाद पौडेललाई पुत्राजयमा बोलाएर उक्त सम्झौतालाई स्वीकार नगर्ने जानकारी दिएको हो ।

दुई देशबीचको सम्झौताविपरीत तेस्रो पक्षसँग गरिएको कुनै पनि सम्झौता कार्यान्वयन नगर्ने मलेसियाले प्रस्ट पारेको छ । त्यसअघि नेपालका लागि मलेसियाका कार्यबाहक राजदूत मोहम्मद फिरदौस बिन आजमानले परराष्ट्र मन्त्रालयमा पुगेर आपत्ति जनाउनु भएको थियो ।

रोजगारदाताले समेत विरोध जनाएपछि सम्झौतामाथि मलेसियाका श्रम संसाधनमन्त्री स्टेभेन सिम र गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले पत्रकार सम्मेलन गरी आफूहरु यो सम्झौता लागू गर्न बाध्य नभएको जानकारी दिनुभएको थियो ।

‘यस विषयमा मन्त्रालयले अहिलेसम्म कुनै सहमति वा अनुमोदन गरेको छैन र यस्तो गर्दैन । आप्रवासी कामदारको कल्याणकारी सेवा प्रदान गर्न तेस्रो पक्षलाई पनि अनुमति दिइएको छैन,’ गत मंगलबार आयोजित पत्रकार सम्मेलनमा मानव संसाधन मन्त्री सिमले भन्नुभएको थियो । मलेसियन गृहमन्त्री इस्माइलले दुई सरकारबीचको समझदारीपत्र मात्र लागू गर्न बाध्यकारी हुने बताउनु भयो ।

मलेसियाले स्रोत देशसँग गरिएको सम्झौतामा पुनर्विचार गरिरहेको जनाएको छ । नेपाल–मलेसिया श्रम सम्झौताको अवधि गत कात्तिक १२ गते नै सकिएको हो । यसको नवीकरण भएको छैन । मलेसियन रोजगारदाताले नेपाली कामदारको कल्याणकारी काम गर्न तेस्रो पक्षलाई नियुक्ति गर्ने कार्यलाई अनावश्यक भन्दै नेपाली कामदारको भर्ना गर्न थप शुल्क तिर्न बाध्य पार्न नहुने बताएको छ ।

नेपाल र मलेसियाबीच भएको श्रम सम्झौताअनुसार रोजगारदाताले एक नेपाली कामदार भर्ना गर्न ६३ सय २२ रिंगेट (१ लाख ७८ हजार रुपैयाँ) देखि ७९ सय ४२ रिंगेट (दुई लाख २४ हजार रुपैयाँ) व्यहोर्नुपर्छ । तर, तेस्रो पक्षसँग गरिएको सम्झौतामा प्रतिकामदार थप ४५ डलर (६ हजार रुपैयाँ) उठाउने उल्लेख छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सम्झौताको खारेजी हुनुपर्ने बटमलाइन सुनाएको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारीले सम्झौता कार्यान्वयनमा रोकेर मात्रै नहुने बताउनु भयो ।

‘यो प्रकृतिको सम्झौताले व्यवसायी र कामदारमाथि थप आर्थिक भार पर्छ । यस्तो प्रकृतिको सम्झौताले एकाधिकार हुनुको साथै नेपालले पाइरहेको कोटा अन्य देशमा जाने अवस्था छ,’ भण्डारीले भन्नुभयो, ‘हामी बटमलाइन यो सम्झौताको खारेजी हुनुपर्छ भन्ने नै हो ।’ प्रति नेपाली कामदार ४५ डलर असुल्ने योजनामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको समेत नाम जोडिएको छ ।