जनता टाइम्स

४ आश्विन २०७६, शनिबार १७:१५

जनताका घरघर जान सांसदलाई प्रधानमन्त्रीको निर्देशन


काठमाडौं, असोज ४

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सांसदलाई जनताका घरघरमा जान निर्देशन दिनु भएको छ । प्रतिनिधिसभाको वर्षे अधिवेशन सकिएकाले अब जनताका घरघरमा गएर उनिहरुको समस्या बुझ्न सरकारले गरिरहेका कामको जानकारी गराउन निर्देशन दिनु भएको हो ।

अधिवशेन सकिएपछि बसेको पार्टीको संसदीय दलको बैठकमा दलका नेता समेत रहनु भएका प्रधानमन्त्री ओलीले सरकारले गरेका र गरिरहेका कामको बारेमा जानकारी गराउन निर्देशन दिनुभयो । उहाले संविधान दिवसका दिन टुडिखेलमा आयोजित कार्यक्रमबाट सरकारले गरिरहेका कामका विषयमा जानकारी गराउनु भएको थियो । सोही काम र अबका लक्ष्यका विषयमा स्पष्ट रुपमा धारणा राख्न निर्देशन दिनुभयो ।

‘दशैंतिहारमा जिल्ला जाँदा जनतालाई सरकारको कामबारे बताउनुहोस्’, प्रधानमन्त्री ओलीले भन्नुभयो,‘विरोधीले जसरी हल्ला फैलाएका छन्, तिनीहरुलाई तथ्यका साथ चिर्नुहोस् ।’ सरकारले संविधान कार्यान्वयनका लागि नभई नहुने कानूनहरु बनाउनुका साथै विकास निर्माणका कामहरु गरिरहेको तर केही मानिसले भ्रम छरेको उहाले बताउनु भएको एक सांसदले जानकारी दिनुभयो । उहाले परिर्वतनका लागि भूमिका नै नखेलेकोहरुले अहिले सामाजिक सञ्जालमा नियोजित प्रचार गरिरहेको भन्दै जनतालाई बुझाउनुपर्नेमा जोड समेत दिनुभयो ।