जनता टाइम्स

४ आश्विन २०७६, शनिबार १८:३४

नेकपाले तोक्यो महानगरमा अध्यक्ष–सचिव (सूचीसहित)


काठमाडौं, असोज ४ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशभरका छ वटै महानगरमा पार्टी अध्यक्ष र सचिवको टुंगो लगाएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले महानगर कमिटीको अध्यक्ष र सचिव तोकेको हो ।

बैठकले काठमाडौं महानगरको अध्यक्षमा निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठलाई चयन गरेको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारीअनुसार ललितपुर महानगरको अध्यक्ष मन्जली शाक्य र सचिव ज्ञानेन्द्र शाक्यलाई चयन गरिएको छ । यसैगरी पोखरा महानगरको अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने, भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिव ईश्वर सापकोटा तोकिएको छ ।

यस्तै, वीरगंज महानगरको अध्यक्षमा रोहवर अन्सारी र सचिवमा विश्वम्बर शर्मा चयन हुनुभएको छ । बैठकले विराटनगर महानगरमा अध्यक्ष सागर थापा र सचिवमा हेम कार्कीलाई तोकेको छ । बैठकमा केन्द्रीय आयोग, जेष्ठ कम्युनिस्ट मञ्च, प्रवाश कमिटी र बिभागलाई पुर्णता दिने एजेण्डा रहेको भएपनि अर्काे बैठकका लागि सारिएको छ ।

आवश्यक छलफलपछि अन्तिम प्रस्ताव ल्याएर टुंग्याउन अर्काे बैठकका लागि सारिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । ‘बाँकी सांगठानिक कामहरू छिट्टै बस्ने सचिवालय बैठकले टुंगो लगाउँछ,’ प्रवक्ता श्रेष्ठको भनाई थियो ।