जनता टाइम्स

९ माघ २०८०, मंगलवार २१:३९

नेपाली दूतावास र प्रवासी नपाली मञ्चको बिशेष पहलमा नेपाल पठाइयो कतारमा ज्यान गुमाएका खानको शव


नेपाली राजदूतावास कतार र प्रवासी नेपाली मञ्चको विशेष पहलमा आइतवार अर्थात २१ जनवरी २०२३ मा खानको पार्थिव सरीर नेपाल पठाइएको हो ।

कतार, माघ ९ । रोजगारीको सिलसिलामा कतार आएका लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ५ निवासी मनान खानको शव नेपाल पठाइएको छ । नेपाली राजदूतावास कतार र प्रवासी नेपाली मञ्चको विशेष पहलमा आइतवार अर्थात २१ जनवरी २०२३ मा खानको पार्थिव सरीर नेपाल पठाइएको हो ।

मृतक मनान खान विगत एक वर्षदेखि कतारस्थित एक कम्पनीमा कार्यरत रहनुभएको थियो । कामकै सिलसिलामा खानको मृत्यु भएपछि राष्ट्रिय सभाका पूर्वसदस्य एवं नेकपा एमालेका पोलिटब्यूरो सदस्य खीमलाल भट्टराईले घरसम्म शव ल्याउनका लागि सहयोग गर्न प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपसचिव एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख चानक पोखरेललाई आग्रह गर्नुभएको थियो ।

भट्टराईको सो आग्रहलगत्तै मञ्चका उपसचिव पोखरेलले खान कार्यरत कम्पनी पहिचान गर्नुभएको थियो । कम्पनी पहिचानपछि सबै कानुनी प्रक्रियाहरू पूरा गरी, पारिश्रमिक लगायतका आर्थिकका कुराहरूलाई समाधान गर्दै दोहास्थित नेपाली राजदूतावासको विशेष पहलमा मृत्यु भएको तेह्र दिनभित्र मृतकको शव नेपाल पठाउन सकिएको जानकारी मञ्चका उपसचिव पोख्रेलले दिनुभयो ।

प्रवासी नेपाली मञ्च कतारका प्रतिनिधिहरूको सहयोगमा खानले काम गर्ने पुरानो कम्पनीमा सम्पर्क गरेर त्यहाँका पब्लिक रिलेसन अफिसरलाई नेपाली दूतावासमा समन्वय गर्न लागाएर पाउनु पर्ने सम्पूर्ण पारिश्रमिक तथा बिमावापतको रकमसमेत दूतावासले दिलाएको छ । कतारमा सवै प्रक्रिया पूरा गरी कम्पनीसँग समन्वय गरेर खानको परिवारलाई यथाशीघ्र शव उपलब्ध गराउने प्रक्रिया पूरा गरिएको पोखरेललले जानकारी दिनुभयो ।

प्रवासी नेपाली मञ्चले बिदेशमा मृत्यू भएको तथा अप्ठ्यारोमा परेका नेपालीका लागि सदैव सहयोग गर्दै आएको छ । कतारमा पनि सवैभन्दा अग्रपंक्तिमा रहेर मञ्चका उपसचिव पोखरेलसहित कतारस्थित मञ्चका पदाधिकारी तथा सदस्यहरुले भूमिका निर्वाह गर्नुभएको हो । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीले नेपाली नागरिक समस्या परेको जुनसुकै देशमा तत्कालै सहयोग गर्ने निर्णय गरेर सवै राष्ट्रिय कमिटीलाई निर्देशन समेत दिइसकेको छ ।