जनता टाइम्स

५ आश्विन २०७६, आईतवार ०८:३६

बाढीले घर बगाउदा दुई बालक बेपत्ता


बेनी, असोज ५

भीषण वर्षापछि आएको बाढीले बेनी नगरपालिकामा दुई घर बगाउदा त्यहा रहेका दुई बालक बेपत्ता भएका छन् । शनिवार राति परेको भीषण वर्षापछि बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले घर बगाउँदा पाँच र १० वर्षका दुई बालिकाहरु बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बाढीले खोला नजिकै रहेको बुद्ध एकेडेमीका एक पक्की सहित चार कच्ची भवनमा पूर्ण रुपमा क्षति पु¥याएको प्रहरीले जनाएको छ । खोलाले धार परिबर्तन गरि वस्ती तिर पसेका कारण २ वटा कच्ची घर पुर्णरुपले बगाएको छ । भने २ वटा कच्ची घरमा क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

बाढीको खबर प्राप्त हुनासाथ प्रहरी टोली उद्धारका लागि राती नै घटनास्थलमा पुगेको र उद्धारमा खटिएको प्रहरी निरिक्षक शर्माले जानकारी दिनुभयो । बाढीमा परेर दुइजना बच्चाहरु हराइरहेका हुनाले उनीहरुको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो ।

बुद्ध एकेडेमीको खेल मैदानमा बाढी पसेको र विद्यालयका सबै कोठाहरु बन्द भएका कारण पानी बग्न नपाई एक पक्की सहित ४ वटा भवनहरु मध्ये दुई वटा कच्ची ब्लकका कक्षाकोठा हरुमा क्षति पुगेको विद्यालयका प्रबन्धक निर्देशक राजकुमार थापाले बताउनुभयो ।

रातको समयमा भीषण बर्षा भएको र खोलाले धार परिबर्तन गरि आएको हुनाले अकल्पनीय क्षति भएको थापाले बताउनुभयो । राहत र उद्धारका लागि अहिले घटनास्थलमा प्रहरी,स्थानीय प्रशासन र सर्वसाधरणहरु पुगेका छन् ।