कतार, माघ १३ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपसचिव चानक पोख्रेलले कतारमा कार्यरत नेपाली श्रमिक समाजको निम्ति प्राण वायु भएको निश्कर्ष सुनाउनु भएको छ । प्रवासी भुजेल समाजको सातौँ अधिवेशनलाई सम्बोधन गर्दै उपसचिव पोखरेलले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।
कतारस्थित ग्रीन चिल्ली रेस्टुरेण्टको सभाहलमा शुक्रवार अर्थात २६ जनवरीमा आयोजित कार्यक्रममा शुभकामना दिँदै मञ्चका उपसचिव पोखरेलले भन्नुभयो, ‘हामी आफ्नो संस्कृति जोगाउन आफ्नो ठाउँबाट लागेका छौं । यसमा भुजेल समाज कतारले दोहाको नेपाली समाजमा अग्रणी भूमिका खेलेको छ ।’
सम्बोधनको क्रममा उहाँले आफू २६ बर्षदेखि समाज रुपान्तरणको काममा रहेको स्मरण पनि गर्नुभयो । ‘म २६ वर्षदेखि यो समाज रूपान्तरणको लागि लागेको छु । २६ वर्ष अघि यहाँ नेपाली दूतावास आउनु अगाडिदेखि हामीले समाज सेवा गरिरहेका छौँ,’ पोख्रेलले भन्नुभयो । कतारका नेपाली समाज नेपाली श्रमिकहरूको समस्या निराकरणको निम्ति लडिरहेको र आफू प्रवासी नेपाली मञ्च कतारको अध्यक्ष हुँदा लगातार रूपमा श्रमिकको समस्या निराकरणको निम्ति नेपाली दूतावासमा सधै गएको र दूतावाससँग समन्वय गरेर धेरै नेपाली श्रमिकका समस्या समाधान गरेको उहाँले बताउनु भयो ।
मन्तव्यको क्रममा पोख्रेलले देश नेपाली श्रमिकको रेमिट्यान्सले धाने पनि यसको जस नेपाली श्रमिकले नपाएको भन्दै आपत्ति जनाउनु भयो । ‘हामी हाम्रै विमानस्थलमा हेपिन्छौं, अब यो अवस्थाको अन्त्य हामीले गर्नैपर्दछ,’ पोखरेलले भन्नुभयो, ‘देशको प्रत्येक सुख दुखमा कतारका श्रमिकले सहभागिता जनाएका छन । देशलाई तथा समाजलाई जीवन्त बनाउन प्रयासरत छन । त्यसकारण यहाँका नेपाली श्रमिक नेपाली समाजका निम्ति अक्सिजन हुन ।’
प्रवासी नेपाली मञ्चका निवर्तमान अध्यक्ष समेत रहनुभएका पोख्रेलले मध्यपूर्वमा रहेका श्रमिकले आफ्नो हकका लागि अव निर्णायक लडाईं लडनु पर्ने बताउनु भयो ।
‘नेपाली श्रमिकको हक अधिकार सुनिश्चित गर्नको निम्ति, समस्या निराकरणको निम्ति अब यहाँको नेपाली समाजले नेपाल सरकार संघर्ष गर्नु पर्दछ । युरोप तथा अमेरिकामा भएका व्यक्तिले हाम्रो लागि लड्दैनन, हामीले नै हाम्रो अधिकार सुनिश्चित गर्न लड्नु पर्दछ । समाजको निम्ति तपाईं–हामी प्राण वायु हौँ, यो भुजेल समाज यहाँको नेपाली समाजको निम्ति प्राण वायु हो,’ पोख्रेलले थप्नुभयो, ‘हामीले हाम्रो स्वाधिनतालाई जोगाउन नेपाली बनेर लाग्नु पर्दछ ।’
प्रतिक्रिया दिनुहोस्