जनता टाइम्स

५ आश्विन २०७६, आईतवार ११:१७

आलोपालोका विषयमा पार्टीको निर्णय नै अन्तिम हुने अध्यक्ष प्रचण्डको उद्घोष


विराटनगर, असोज ५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र र यो संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा रहेको बताउनुभएको छ ।

थारु समुदायको जितिया पर्वमा सहभागी हुन सुनसरी पुग्नुभएका उहाँले गणतन्त्रका विरुद्ध तत्कालै कुनै खतरा नभएपनि आउन सक्नेतर्फ सचेत हुनुपर्ने बताउनु भयो । ‘अहिले यो परिवर्तन र प्रणालीलाई खतरा आयो भन्ने सत्य होइन । तर अराजक गतिविधि ठाउँ ठाउँमा बढेको देखियो’, उहाको भनाई छ ।

अध्यक्ष प्रचण्डले अराजक गतिविधि ठाउँ ठाउँमा बढेको देखिएको बताउदै यसको प्रतिवाद सबै राजनीतिक दलहरुले र सरकारले गर्नुपर्नेमा सबै दल एकजुट भएको बताउनु भयो । ‘यसको अर्थ भौतिक होइन राजनीतिक र बैचारिक रुपमा त्यो प्रवृतिलाई परास्त गर्नुपर्यो’, उहाले भन्नुभयो । भ्रष्टाचारका विरुद्ध सरकार र पार्टी अगाडि बढिरहकै बताउदै संघीय लोकतान्त्रिक गणतन्त्र र यो संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा रहेको जानकारी समेत दिनुभयो ।

अध्यक्ष प्रचण्डले आलोपालो वा के गर्ने भन्ने निर्णय पार्टीले गर्ने बताउनु भयो । पार्टीभित्र यसविषयमा अहिलेसम्म छलफल नभएको भन्दै पार्टीको निर्णय आफुलाई मान्य हुने संकेत समेत गर्नुभयो । यसैगरी उहाले सरकार र पार्टीका कामको अहिले समिक्षा जारी रहेको पनि जानकारी दिनुभयो । ‘हामीले सरकार र पार्टी दुबैको कामको समिक्षा गरिरहेका छौं । यसलाई नयाँ शीराबाट गति दिने बारे छलफल भइरहेको छ’, पत्रकारसँग कुरा गर्दै उहाले भन्नुभयो, ‘पार्टीलाई एकतावद्ध गर्ने विकास निर्माणका कामलाई गति दिने भन्ने व्यापक छलफल भएको छ । एकवर्षभित्र यसको प्रतिफल देख्नुहुन्छ ।’