जनता टाइम्स

१४ माघ २०८०, आईतवार १९:२०

कर्णाली सरकारको प्रगति निराशाजनक : नेता कँडेल


कर्णाली, १४ माघ । नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले प्रदेश सरकारको प्रगति निराशाजनक भएको आरोप लगाउनुभएको छ । आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विकासप्रति जनताको तीव्र आकाङ्क्षा, यहाँको विकट भौगोलिक अवस्था, सरकारको विकास नीति तथा गतिबीच तालमेल हुन नसक्दा आमजनतामा निराशा छाएको टिप्पणी गर्नुभयो ।

नेता कँडेलले भन्नुभयो,‘योजना निर्माणमा हुने भ्रष्टाचार, अपारदर्शिता, अनियमितालाई चिर्न सरकारले ध्यान दिनुपर्छ ।’

गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पले रुकुमपश्चिम र सल्यानमासमेत क्षति पुर्याउँदा पीडितहरुको राहत तथा पुनःस्थापना सरकारले गर्न नसकेको जिकिर गर्दै उहाँले प्रमुख प्रतिपक्षी दलको हैसियतले सरकारलाई नीतिगत सुधार, सुशासन, पारदर्शिता, विकास र कर्णालीको समृद्धिका सवालमा पटक–पटक घच्घच्याउने गरे पनि नसुनेको गुनासो गर्नुभयो ।