जनता टाइम्स

५ आश्विन २०७६, आईतवार १२:३३

प्रधानमन्त्रीलाई सोध्नुपर्छ भन्दै प्रश्नबाट पन्छिए प्रचण्ड


विराटनगर, असोज ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनको प्रश्न आफूलाई नसोध्न सुझाउनु भएको छ । मन्त्री फेर्ने बिषय प्रधानमन्त्रीको रहेको भन्दै अध्यक्ष प्रचण्डले यस बिषयलाई अव आफूले इग्नोर गर्ने उदघोष पनि गर्नुभयो ।

‘मन्त्रिपरिषद पुर्नगठित गर्ने अधिकार प्रधानमन्त्रीको हो, यस बिषयमा अव प्रन नगरौं,’ बिराटनगर बिमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँका अनुसार कामका आधारमा प्रधानमन्त्रीले लिने निर्णय हो, मन्त्रिपरिषद बिस्तार । अध्यक्ष प्रचण्डले राज्य व्यवस्थामा खतरा नभए पनि अराजक तत्वको हर्कतले सीमा नाघ्न थालेको भन्दै प्रतिवाद गर्नुपर्ने समय आएको प्रष्ट पार्नुभयो । उहाँले व्यवस्थाप्रति प्रहार गर्ने अराजक तत्वको प्रतिवाद गर्न कार्यकर्तालाई सार्वजनिक रुपमा निर्देशन दिनुभयो ।

संविधान र लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल एक ठाउँमा रहेको उहाँको भनाई थियो । ‘संविधान र लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक शक्ति एक ठाउँमा छौँ । तर पछिल्ला गतिविधिलाई परास्त गर्न प्रतिवाद गर्नुपर्ने समय भने आइसकेको छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँले सरकार र पार्टीको कामका विषयमा पार्टीमा गम्भीर समीक्षा भइरहेको भन्दै अव नयाँ शिराबाट परिमाण देखिने गरी काम हुने ठोकुवा गर्नुभयो ।