काठमाडौं, १० माघ । कैलालीमा अन्तरजातीय विवाह गरेर गएकी छोरीलाई आमाले घरमै गएर कुटपिट गरेकी छन् । गोदावरी नगरपालिका–९का सुरेश विश्वकर्मासँग अन्तरजातीय विवाह गरेकी २३ वर्षीया सरस्वती खड्कालाई आमाले घरमै गएर शनिबार कुटपिट गरेकी हुन् । कुटपिटबाट सरस्वती र सुरेश घाइते भएका छन् । गौरीगंगा नगरपालिका–७ की सरस्वती र सुरेशले २०७९ फागुन २९ गते काठमाडौंमा अन्तरजातीय विवाह गरेका थिए ।
विवाहपश्चात सरस्वतीका बुबा (पूर्वप्रहरी) र भाइले सुरेशलाई काठमाडौंस्थित गौशालाको जंगलमा लगेर कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका सुरेशलाई सरस्वतीका बुबाले ‘ललाइफकाइ छोरीलाई लगेको’ भन्दै गौशाला प्रहरी बुझाएका थिए । त्यसबेला प्रहरीले नै सुरेशलाई दुर्व्यवहार गर्नुका साथै जातीय विभेदजन्य गालीगलौज गरेको थियो ।
त्यसपश्चात डर, त्रासका बीच काठमाडौंमा बस्दै आएका सुरेश, सरस्वती १५ दिनअगाडि कैलालीस्थित घर आएका थिए । उनीहरू घर आएको थाहा पाएलगत्तै शनिबार बिहान ७ बजेतिर चार–पाँच जना मानिसहरुसहित घरमा आउनुभएको आमाले आफू र श्रीमान्लाई कुटपिट गरेको सरस्वतीले जानकारी दिनुभयो ।
‘हिजो बिहान त्यस्तै ७ बजेतिर चार–पाँच जना मान्छेसहित आउनुभएको थियो’, सरस्वतीले भन्नुभयो,‘अरु मान्छेले त केही बोलेन्न तर मम्मीले म र श्रीमानलाई कुटपिट गर्नुभयो।’ कुटपिटबाट सामान्य घाइते भएको उहाँले बताउनुभयो । आमा आएर घरमा हल्लाखल्ला गरेपछि गाउँलेहरूले इलाका प्रहरी कार्यालय मालाखेतीलाई सूचना गरेका थिए । सूचनापछि प्रहरीले घरमै आएर आमालाई नियन्त्रणमा लिएर सम्झाइ–बुझाइ गरेको सरस्वतीले बताउनुभयो ।
‘मम्मीले आक्रमण गरेको एकछिनमै प्रहरी आएर उहाँलाई समात्यो,’ सरस्वतीले भन्नुभयो,‘धन्न प्रहरी समयमै आएर उहाँलाई समात्यो, नत्र उहाँ त हामीलाई हान्न खुकुरी खोजिरहनु भएको थियो ।’ प्रहरीले उहाँलाई आगामी दिनमा सुरेश र सरस्वतीलाई धम्काउने तथा आक्रमण गर्ने प्रयास गरे कारबाही गर्ने चेतावनी दिएर घर पठाएको छ ।
प्रतिक्रिया दिनुहोस्