जनता टाइम्स

१९ माघ २०८०, शुक्रबार २०:२०

लघुबित्त र सहकारीको समस्या समाधान गर्न सरकार उदासिन, बेवास्ता गरे परिस्थिति बिष्फोटक हुन्छ : कमल थापा


काठमाडौं, १९ माघ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहकारी र लघुबित्त सम्बन्धि समस्याको समाधान गर्न सरकार उदासिन भएको भन्दै तत्काल समस्या समाधानको लागि ध्यान नदिए परिस्थिति विष्फोटक हुने चेतावनी दिनुभएको छ ।

समस्याको समयमै यथोचित ढङ्गले सम्बोधन गर्न नसके अर्थतन्त्र धराशायी हुने तथा समग्र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पर्ने भन्दै थापाले ३ खम्बे नीति अनुसार काम गर्ने भन्ने सरकारले एउटा खम्बा सहकारी क्षेत्र सड्ढटग्रस्त हुँदा सरकारको ध्यान र समस्या समाधानमा उच्च प्राथमिकतामा नपर्दा अबस्था जटिल भएको थापाको धारणा थियो ।

सहकारी र लघुबित्तका कारण अहिले हरेक नेपाली जनताको घर घरमा समस्या उत्पन्न भएको चर्चा गर्दै थापाले ७३ लाख परिवारसङ्ग जोडिएको विषयलाई सरकारले हलुका रुपमा लिएकोमा आपत्ती समेत प्रकट गर्नुभयो ।

सहकारी संचालक, बचतकर्ता र ऋणिहरू कसैलाई पनि अन्याय नहुने गरि सरकारले समस्या समाधानका लागि भएका सहमतिहरुको कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै थापाले सड्ढटग्रस्त सहकारी पहिचान गरि राष्ट्रियकरण गर्न समेतपछि पर्न नहुने तर समस्याको समाधान अनिवार्य रुपमा हुनुपर्ने आबश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेबी मल्लले समस्या समाधानमा महासंघ सकारात्मक भूमिका खेल्न तयार भएको तर सरकारको प्राथमिकतामा यो विषय नपरेकोमा चिन्ता ब्यक्त गर्नुभयो । कार्यक्रममा पूर्व सचिव एवम् विज्ञ गोपि मैनालिले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सहकारी संचालक, सहकारीकर्मी, पीडित पक्षहरूले समस्या र समाधानको उपाएका विषयमा आफ्नो आफ्नो धारणा राख्नुभएको थियो । राप्रपा नेपालको सहकारी बिभागले कार्यक्रम गरेको तथा कार्यक्रमको निष्कर्ष सहित सरकारलाई ज्ञापनपत्र बुझाइने विभागका प्रमुख राजकुमार खड्काले जानकारी दिनुभयो ।