जनता टाइम्स

५ आश्विन २०७६, आईतवार २०:५६

ब्यवसायीलाई अर्थमन्त्रीको निर्देशन : कर्मचारी संयन्त्रभित्रका विकृतिबारे सूचना दिई सहयोग गर्नाेस


काठमाडौं, असोज ५ । अर्थमन्त्री डा. डा. युवराज खतिवडाले करको दर र दायराको विषयमा व्यवसायीहरुसँग छलफल गर्ने बताउनु भएको छ । काठमाडौंमा आज आयोजित नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको प्रथम बार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सो जानकार ीदिनुभएको हो । उहाँले छिमेकी देशका सरकारले कर प्रशासनमा गरेको परिर्वतनले नेपालमा पार्ने प्रभावबारे व्यवसायीहरुसँग छलफल गर्ने बताउनु भयो ।

छिमेकी राष्ट्र भारतले आर्थिक वृद्धिमा आएको संकुचनले लगानी बढाउन नसकिने निष्कर्ष निकाल्दै १० प्रतिशतको बिन्दुसम्म आयकरको दरमा कटौती गर्ने निर्णय गरेको छ । यसबाट भारतीय सरकारले नागरिकको लगानी बाहिर नजाने र बाहिरको लगानी भारतभित्र ल्याउन सहयोग पुग्ने विश्वास लिएको छ । भारत सरकारले करको दरहरु घटाएसँगै सरकार पनि दवावमा परेको हो । छिमेकी राष्ट्रहरुले आफ्नो अनुकूलतामा करका दरहरुमा समायोजन गर्ने भएको हुँदा नेपाल सरकारले पनि त्यसको अध्ययन गर्ने र राजश्व बोर्ड छिट्टै गठन गरी कर प्रतिष्पर्धात्मकताका लागि व्यवसायीहरुसंग छलफल गर्ने अर्थमन्त्रीले जानकारी दिनुभयो ।

उहाँले इमान्दार व्यवसायीले कर प्रशासनको कडाईबाट डराउनु नपर्ने जनाउ पनि दिनुभयो । दुईथरी व्यवसायी नभई प्रतिस्पर्धी व्यवसायी निर्माण गर्ने प्रयासमा सबै लाग्नुपर्ने भन्दै अर्थमन्त्री खतिवडाले कर्मचारी संयन्त्रभित्रका विकृतिबारे सरकारलाई सूचना दिई सहयोग गर्न व्यवसायीलाई आग्रह गर्नुभयो । पारदर्शी र इमान्दार हुन सबै व्यवसायीलाई अर्थमन्त्री खतिवडाले सचेत समेत गराउनु भयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नियमन र कर प्रशासनका नयाँ व्यवस्था कार्यान्वय गर्दा लगानीको वातावरण नबिग्रियोस् भन्ने तर्फ सरकार पनि सचेत हुनुपर्ने बताउनु भयो । उहाँले नेपालमा गरिने विदेशी लगानी पूँजी वा प्रविधि भन्ने विश्लेषण गर्नुपर्ने आवश्यकता औंल्यानु भएको थियो । कार्यक्रममा व्यवसायीहरुले भ्याटको थ्रेस होल्ड, बैक ब्याजदर तथा फूल अडिटको बर्ष बढाउने विषयमा मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।