जनता टाइम्स

६ आश्विन २०७६, सोमबार १०:०३

काठमाडौंमा ‘सि विचारधारा’को बहस, सिसिपीका विदेश विभाग प्रमुखपनि सहभागी हुने


काठमाण्डौ, असोज ६

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउने लगभग पक्का भएसगै ‘सी विचारधारा’को बहस सुरु भएको छ । औपचारिक रुपमा मिति तय हुन बाँकी भए पनि असोजको अन्तिम साता चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमणमा आउने लगभग पक्का भैसकेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले देश विकासका लागि सी विचारधारा उपयुक्त हुने भन्दै यसबारे प्रशिक्षण चलाउँदैछ । सी विचारधाराकै कारण चीनमा चामत्कारिक विकास भएको भन्दै नेकपाले नेपालको विकासका लागि पनि यो मोडल उपयुक्त हुने भन्दै प्रशिक्षण दिन लागेको हो ।

नेकपा स्कुल विभागको आयोजनामा सोमबार र मंगलबार दुई देशका कम्युनिष्ट विचारधाराबारे छलफल हुँदैछ । छलफलमा चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुखको नेतृत्वमा २० जना चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु सहभागी हुनेछन् । प्रधानमन्त्री समेत रहनु भएका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने छलफल कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सीपीसी अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले सम्बोधन गर्नेछन् ।

सिसिपीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओ कार्यक्रममा सहभागी हुन आज काठमाडौं आउदै हुनुहुन्छ । उहा मध्यान्ह साढे १२ बजे काठमाडौं आईपुग्ने कार्यक्रम रहेको छ । छलफलमा नेकपाले अवलम्बन गरेको जनताको जनवाद र जिनपिङको विचारधाराबारे केन्द्रित भई प्रशिक्षण हुने नेकपाले जनाएको छ । नेकपाले यसलाई प्रशिक्षण नभइ विचार आदानप्रदान कार्यक्रम भनेको छ ।

नेपालको विकासलाई अघि बढाउन र पार्टीलाई बलियो बनाउन सी विचारधारा उपयुक्त हुने नेकपाका नेताहरुको बुझाइ छ । नेपालबाट कम्युनिस्ट नेता कार्यकर्ताले बेलाबेला चीनमा गएर अध्ययन गर्ने गरेका छन् । चिनियाँ राष्ट्रपति सीले आफ्नो दोस्रो कार्यकालमा ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद’ सुरु गर्नुभएको छ । यसलाई संविधानमासमेत सी विचारधाराका रूपमा ग्रहण गरी चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशक सिद्धान्त बनाइएको छ । दुई वर्षअघि सीपीसीको १९ औं महाधिवेशनले यसलाई पारित गरेको हो ।

सीको यही विचारधाराले चीनले आर्थिक विकासमा फड्को मारेको भन्दै नेपालमा सत्तारुढ नेकपाले पनि यही मोडल उपयुक्त हुनेबारे छलफल थालेको हो । सन् २०१२ मा चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ केही घण्टाका लागि नेपाल भ्रमणमा आएयता पहिलोपटक त्यसभन्दा उच्चस्तरको राष्ट्रपतीय भ्रमण सीबाट हुन लागेको हो । यसअघि सन् १९९६ मा चीनका तत्कालीन राष्ट्रपति जियाङ जेमिनको नेपाल भ्रमण भएपश्चात् अन्य चिनियाँ राष्ट्रप्रमुख यता आएका छैनन् ।