जनता टाइम्स

२६ माघ २०८०, शुक्रबार १३:४४

एकैदिन रोकियो चार बालविवाह


हेटौंडा, २६ माघ । मकवानपुरमा एकैदिन चार जोडीबीच हुन लागेको बालविवाह रोकिएको छ । बिहीबार एकैदिन चार बालविवाह रोकिएको बालहेल्पलाइन मकवानपुर संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिनुभयो । कैलाश गाउँपालिका–३ का २१ वर्षीय युवक र राक्सिराङ गाउँपालिका–३ की १४ वर्षीया बालिकाबीच हुन लागेको बालविवाह रोकिएको हो । मनहरी गाउँपालिका-४ की १५ वर्षीया बालिका र हेटौंडा(३ बसामाडीका १८ वर्षीय युवकबीच हुन लागेको बालविवाह पनि रोकिएको छ ।

मकवानपुरगढी गाउँपालिका–२ की १८ वर्षीया र हेटौंडा–१७ का २५ वर्षीय युवकबीच हुन लागेको बालविवाह रोकिएको ज्ञवालीले जानकारी दिनुभयो । बालविवाह हुन लागेको सूचना प्राप्त भएपछि अनुगमन गर्दा बालविवाह रोक्न सफल भएको उहाँले बताउनुभयो । १३, १४, १५ र १८ वर्षीय बालबालिकालाई थप परामर्शका लागि बाल हेल्पलाइन मकवानपुरको संरक्षणमा राखिएको बाल हेल्पलाइन कार्यक्रम अधिकृत सम्झना अधिकारी जानकारी दिनुभयो ।

जनप्रतिनिधि, अभिभावक, बालबालिका र बाल हेल्पलाइन मकवानपुर, हिमराइट्स् मकवानपुर र प्रहरीको संयुक्त टोलीले बालविवाह रोकेका हुन् । कानुनी प्रावधानबमोजिम २० वर्ष पूरा भएपछि मात्र विवाह गर्ने प्रतिवद्वता बालबालिकाले व्यक्त गर्नुभएको छ । अभिभावकले पनि बालबालिकाको निगरानी गर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । सबभन्दा बढी कैलाश र राक्सिराङमा बालबालिका हुने गरेको ज्ञवालीले बताउनुभयो ।

यातायात र सञ्चार पहुँच नहुँदा बालविवाह ती पालिकामा बढी हुने गरेको उहाँको भनाइ छ । अध्ययन तथा अनुगमन भए पनि एउटै बुझाइ नहुँदा बालविवाह रोक्न सकिएको छैन । जनप्रनितिनिधि र बालहेल्पाइनको सहयोग र समन्वय भए बालविवाह न्यूनीकरण गर्न सकिने उहाँले बताउनुभयो । जनप्रतिनिधिले प्राथमिकता भौतिक पूर्वाधार विकाससँगै सामाजिक गतिविधिलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो । आव २०७९÷०८० मा कैलाश गाउँपालिकामा ४ वटा बालविवाहमध्ये २ बालविवाह रोक्न सफल भएको छ ।

जसमा २ वटा बालविवाह रोक्न असफल भएका छन् । राक्सिराङमा ५ बालविवाहमध्ये ३ बालविवाह रोक्न सफल भएका छन् भने २ बालविवाह रोक्न असफल भएका छन् । मनहरीमा १२ बालविवाहमध्ये ९ बालविवाह रोक्न सफल भएका छन् भने ३ बालविवाह रोक्न असफल भएका छन् । मकवानपुर जिल्लामा भएका ५० बालविवाहमध्ये ४४ बालविवाह रोक्न सफल भएको छ भने ६ वटा बालविवाह रोक्न असफल भएका छन् । बिकट क्षेत्र राक्सिराङ र कैलाशमा अनुगमन कम हु“दा कम तथ्यांक आएको उहाँले बताउनुभयो ।