जनता टाइम्स

२८ माघ २०८०, आईतवार १९:४४

पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख ठगी गर्ने महिला पक्राउ


काठमाडौं, २५ माघ । पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका १२ हाल काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने मञ्जु रावत रहेकी छन् ।

रावतले राजीव बस्नेतसहित ३ जनाबाट पोर्चुगल पठाइदिन्छु भन्दै रु १८ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । उनले बस्नेतसहित ३ जनालाई पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक १ लाख ५० हजारसम्म तलब हुन्छ भनी विश्वास दिलाएर प्रलोभनमा पारेको प्रहरीको भनाई छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोली बिहीबार नयाँ वानेश्वरबाट पक्राउ गरिएकी रावतलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार कार्यालय ताहाचाल पठाइएको प्रहरीले जनाएको छ ।