काठमाडौं, २९ माघ । बुढानीलकण्ठ नगरपालिकामा ‘बुढानीलकण्ठ साहित्यिक सांस्कृतिक महोत्सव २०८०’ आयोजना हुने भएको छ । नगरपालिकाको आयोजनामा फागुन ११ र १२ गते दुईदिने महोत्सव हुने भएको हो । महोत्सव संयोजक समेतरहनुभएको उपप्रमुख अनिता लामाले पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिनुभयो ।
उक्त अवसरमा साहित्यकार तथा संस्कृतिविद्, नगरसभा सदस्य, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महाशाखा, शाखा प्रमुख उपस्थित रहेको थियो । साहित्यकार बाबु त्रिपाठीले फागुन ११ र १२ गते गरी दुई दिन आयोजना हुने कार्यक्रमको तालिका प्रस्तुत गर्नुभयो ।
पहिलो दिन फागुन ११ गतेको कार्यक्रम नगरपालिकाको वडा नम्बर १३ स्थित चुनिखेल र दोस्रो दिनको कार्यक्रम बुढानीलकण्ठ मन्दिर परिसरमा आयोजना हुने जनाइएको छ ।
महोत्सवमा दर्जनौं राष्ट्रिय कलाकार, ५० जनाभन्दा बढी कवि, आख्यानकार, संस्कृतिविद्लगायत विद्यार्थी सहभागी हुने जनाइएको छ । विभिन्न नगरपालिका प्रमुखहरुबीच सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, नाटक तथा रंगमञ्च, गजललगायत बहुविधा तथा क्षेत्रबारेका अन्तरक्रियात्मक कार्यक्रम हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्