जनता टाइम्स

६ आश्विन २०७६, सोमबार १३:२०

नेपाल आइपुगे चिनियाँ कम्युनिस्ट पार्टीका बिदेश बिभाग प्रमुख ताओ, यस्तो छ कार्यक्रम


काठमाडौं, असोज ६ । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख सोङ ताओ नेतृत्वको टोली नेपाल आइपुगेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणमा आज अपरान्ह चिनिया टोली नेपाल आइपुगेको हो ।

चिनियाँ टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्कुल विभाग उपप्रमुख डा. बेदुराम भुषाल र विदेश विभाग उपप्रमुख विष्णु रिजालले स्वागत गर्नुभयो । चिनियाँ कम्युनिस्ट पार्टीको टोली र नेकपाबीच संयुक्त अन्तरक्रिया हुँदैछ । आजबाट सुरु हुने उक्त अन्तरक्रियामा सहभागी हुन सोङ्ताओ नेतृत्वको टोली नेपाल आएको हो ।

ताओ भ्रमणको क्रममा दुई कम्युनिस्ट पार्टीबीच कम्युनिस्ट अनुशासन, समाज रुपान्तरण र विकास तथा समृृद्धिका एजेण्डामा आज र भोलि काठमाडौँमा अन्तरक्रिया हुन लागेको छ । आज साँझ ५ बजेबाट सुरु हुने कार्यक्रमको संयोजन नेकपाको स्कूल विभागले संयोजन गरेको छ । सो कार्यक्रमका सहभागी पनि विभागले छनौट गरेको छ । कार्यक्रममा भाग लिन चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका प्रमुख ताओको नेतृत्वको उच्चस्तरीय टोली भर्खरै काठमाडौँ आइपुगेको हो ।

अन्तरक्रिया गोष्ठीमा चिनियाँ कम्युनिस्ट पार्टीको तर्फबाट विदेश विभाग, संगठन विभाग र स्कुल विभाग र विज्ञहरुले प्रशिक्षण दिनेछन् । कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको तर्फबाट करिव ४० जना सहभागि हुने छन् । नेपालको तर्फबाट करिब दुई सय नेता सहभागि हुनेछन् । नेकपाको तर्फबाट सचिवालय, स्थायी कमिटीका सबै सदस्य र नेकपाका सबै मन्त्रीसहित केही केन्द्रीय कमिटी सदस्य र केही बुद्धिजिविहरु कार्यक्रका सहभागी छन् ।

दुई दिने गोष्ठीमा चिनियाँ कम्युनिस्ट नेता तथा विज्ञहरुले चार शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यक्रमको अध्यक्षता स्कूल विभाग प्रमुख ईश्वर पोखरेलले गर्नुहुनेछ भने कार्यक्रमको सञ्चालन सोही विभागका उपप्रमुख देवेन्द्र पौडेलले गर्नुहुने कार्यक्रम तय भएको छ । अन्तरक्रिया कार्यक्रममा उद्घाटन मन्तव्य नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले राख्नुहुनेछ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको तर्फबाट ‘कि नोट स्पीच’ र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख ताओले पनि ‘कि नोट स्पीच’ राख्ने कार्यक्रम रहेको छ । उद्घाटन सत्रपछि पहिलो सेसनमा ‘कम्प्लिटिङ द बिल्डिङ अफ मोडरेट्ली कम्फर्टेबल सोसाइटी’ शीर्षकमा चिनियाँ कम्युनिस्ट पार्टी स्कूलका काओ लीले आफ्नो प्रस्तुति राखेसँगै सोमबारको कार्यक्रम समापन हुने छ ।

मंगलबार स्पेसल थेम्याटिक सेसनमा सबैभन्दा पहिले सु नान पेङले ‘कम्प्रिहेन्सीभ इफोर्समेन्ट अफ पार्टी डिसिप्लिन’, क्वीन गाङले ‘कम्प्रिहेन्सीभ डिपनिङ अफ रिफर्म’ र सी यु लङले ‘जोइन्ट विड फर विल्डिङ वेल्ट एण्ड रोड इनिसिएटिभ एण्ड कम्युनिटी फ्युचर फर म्यानकाइन्ड’ शीर्षकमा प्रशिक्षण दिनेछन् । यस्तै भोलिनै नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख तोओले दुई कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्धका लागि ‘समझदारी’ पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभएको छ ।