जनता टाइम्स

२ फाल्गुन २०८०, बुधबार १५:३२

तराईको झोलुङ्गे पुल हेर्नेको घुइँचो


धनुषा, फागुन २ । धनुषा र सिरहा जिल्ला जोडने झोलुङ्गे पुल निर्माण भएपछि हेर्न घुईचो लाग्न थालेको छ । धनुषा र सिरहालाई जोड्ने एक हजार पाँच सय दशमलव ४४ मिटर लामो कठाल मल्हनिया मल्टिस्पान झोलङ्गे पुल हेर्न आउनेको घुइँचो लाग्ने गरेको हो ।

करिब दुई साताअघि निर्माण सम्पन्न भई सञ्चालनमा आएको सो पुल हेर्न नेपाल र भारतबाट सयौँको सङ्ख्यामा मानिस आउने गरेका स्थानीयवासीले जनाएका छन् ।

जनकनन्दनी गाउँपालिका–६ कठालका बिल्टु मण्डलका अनुसार दैनिक पाँच सयदेखि आठसयको हाराहारीमा पुल घुम्न मानिस आउने गरेका छन । उहाँले नदी र बालुवाबाहेक केही नभएको झोलुङ्गे पुल निर्माण भएपछि आवतजावतको सहजतासँगै यस क्षेत्र भरिभराउ देखिन थालेको छ ।

पुल हेर्नका लागि अहिले आसपासका गाउँबाट मात्रै होइन छिमेकीमूलुक भारतको मधुवनी जिल्लाका जयनगर, भदौर, देउधा, हरिने हरलाखी, अकोन्हा, उछाल, बेलालगायतका दर्जनौँ ठाउँबाट मानिस आउने गरेका प्रहरीले जनाएको छ ।

पुलमा भिड लागेसँगै आम्दानी पनि बढेको छ । चप, कचरी, मुरही र जिलेबी बेच्न थालिएको गीतादेवीले बताउनुभयो । यहाँ पसल थापेपछि पुनः दैनिक दुई हजारदेखि तीन हजारसम्म आम्दानी हुने गरेको छ ।