जनता टाइम्स

६ आश्विन २०७६, सोमबार १५:३२

पर्यटनमन्त्री भट्टराईको घोषणा कार्यान्वयन : श्री एअरलाइन्सले गर्यो बृद्ध–बृद्धालाई ५० प्रतिशत भाडा छुट


काठमाडौं, असोज ६ । निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले ८५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई ५ सय रुपैयाँ भाडामै हवाई सेवा दिने घोषणा गरेको छ ।

कम्पनीले यही असोज १२ गते घटस्थापनाको दिनदेखि नै यो सेवा प्रदान गर्ने जनाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई अघि सार्नुभएको वार्षिक कार्ययोजनाको कार्यान्वयन स्वरुप श्री एयरलायन्सले यस्तो छुट सुविधा दिने भएको हो । त्यस्तै, ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई भने इन्धन र करबाहेकको भाडामा ५० प्रतिशत छुट दिने घोषणा सो कम्पनीले गरेको छ । कम्पनीका प्रबन्धक अनिल मान्धरका अनुसार प्रतिउडान २ जना जेष्ठ नागरिकले यो सुविधा प्राप्त गर्नेछन् ।

पर्यटनमन्त्री भट्टराईले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गर्नुभएको थियो । मन्त्री भट्टराईको घोषणालाई यसअघि नै सरकारी स्वामित्वको नेपाल एअरलाइन्सले कार्यान्वयन गरिसकेको छ । मन्त्रीको योजना कार्यान्वयन गर्ने श्री एअरलाइन्स दोस्रो हवाई कम्पनी हो ।