धनगढी, ७ फागुन । नसामुक्ति अभियानका अभियन्ता शैक्षिक एवम् प्राज्ञिक व्यक्ति डा. पिताम्बर अवस्थी अभिनन्दित हुनुभएको छ । उहाँलाई धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालय धनगढीले अभिनन्दित गरेको हो । उहाँसँगै कृष्ण मन्दिरकी प्रधान पुजारी मञ्जुला अवस्थीलाई सम्मान तथा अभिनन्दन गरिएको छ ।
डा. पीताम्बर अवस्थीले धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लागूऔषध तथा दुर्व्यसनविरुद्ध प्रशिक्षण दिनुभएको हो । उहाँले आफ्नी आमाको नाममा ‘हरूली आमा छात्रवृत्ति’ धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका महिला विद्यार्थीलाई १६ हजार राशिको छात्रवृत्तिसमेत प्रदान गरेका छन् ।
प्रधानाध्यापक लक्ष्मण दत्त भट्टले छात्रवृत्तिको नगद रकम बुझेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रअ भट्ट र सञ्चालन शिक्षक गणेश नेपालीले गरेका थिए । कार्यक्रममा साहित्यकार हेमबाबु लेखकले विद्यार्थीहरूलाई उत्प्रेरणात्मक मन्तव्य व्यक्त गरेका थिए ।
गजलकार उषा जोशीले गजल वाचन गरेकी थिइन् । सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेय, साहित्यकार एमके सलेनी र भारत पिथौरागढका अजय अवस्थीलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । नसामुक्ति अभियानका अभियन्ता अवस्थी भारतको पिथौरागढ बस्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्