जनता टाइम्स

९ फाल्गुन २०८०, बुधबार ०७:४०

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज नामिविया भिड्दै


काठमाडौं, फागुन ९ । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिवियासँग खेल्दैछ । खेल बिहान ९ स् ३० बजे टीयु क्रिकेट मैदानमा कीर्तिपुरमा सुरु हुनेछ ।नेपाल रोहित पौडेल र नामिविया जेराल्ड इरास्मसको कप्तानीमा मैदान उत्रदैछन् ।नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १३२ रनमै अल आउट भएको थियो । नेपालका भीम सार्कीले ४४ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।

नेपालले बलिङमा कडा प्रतिस्पर्धा गर्दै ३३.१ ओभरमा खेल पुर्याउँदै ६ विकेट लिएको थियो ।दोस्रो खेलमा नेपालले विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।नेदरल्यान्ड्सलाई १३७ रनमा अल आउट गर्दै उक्त लक्ष्य नेपालले १५.२ ओभरमा पूरा गरेको थियो ।

अनिल शाह र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरेका थिए । आसिफ शेखले पनि अर्धशतक प्रहार गरेका थिए ।पहिलो खेलमा हारे पनि नेदरल्यान्ड्सविरुद्ध पुनरागमन जितले नेपालको मनोबल उच्च छ । उच्च मनोबलसँगै घरेलु मैदान, कन्डिसन र दर्शकको फाइदा उठाउँदै नेपाल नामिवियासँग हारको बदला लिन चाहन्छ । उता नामिविया नेपाललाई लगातार दोस्रो खेलमा स्तब्ध पार्ने सोचमा हुनेछ ।सुरुवाती तीन खेलमा टस हारेर पहिला ब्याटिङ गर्ने टोली नै पराजित भएका छन् । पहिला ब्याटिङ गर्ने तीन टोली १४० रन भन्दा कम रनमा अल आउट भएका छन् । टस हार्ने टोलीलाई ब्याटिङ गर्न सुरुवातमा चुनौतीपूर्ण हुनेछ । त्यसैले आजको खेलमा पनि टस निर्णायक बन्न सक्छ ।