जनता टाइम्स

२२ बैशाख २०७६, आईतवार १२:५२

संसदमा देउवा : मेरो सरकार भन्ने शब्दबाहेक नीति तथा कार्यक्रम ठीक छ


काठमाडौं, बैशाख २२

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेरो सरकार भन्ने शब्दबाहेक नीति तथा कार्यक्रम ठीक छ भएको बताउनुभएको छ । उहाँले सरकारले राष्ट्रपतिलाई विवादमा तान्ने काम गरेको आरोप पनि लगाउनु भयो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता देउवाले संघीय संसदको बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रममा राष्ट्रपतिको सम्बोधनलाई बेलायती महारानीको शैलीको आराप लगाउनु भयो ।

‘राष्ट्रपतिलाई बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाएर थप विवादमा पारेको छ,’ देउवाले भन्नुभयो, ‘यो लोकतान्त्रिक गणतन्त्रका लागि राम्रो संकेत होइन।’ नीति तथा कार्यक्रमको आलोचना गर्दै उहाँले विपक्षमा मतदानका लागि आफ्ना सांसदलाई निर्देशन दिनुभयो । सरकार संघीय व्यवस्थाको मर्म र भावनाअनुसार क्रियाशील हुन नसकेको भन्दै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा नियोजित हमला गरेको टिप्पणी गर्नुभयो ।‘

उपलब्धि भनेर ल्याएको फेहरिस्त खोक्रो सावित भएको छ,’ देउवाले भन्नुभयो, ‘नीति तथा कार्यक्रममा जनताको लोकतन्त्र भनेको छ। जबकी लोकतन्त्र आफैंमा पूर्ण हुन्छ।’ उहाँले मेलम्ची आयोजना पूरा नभएको, माथिल्लो तामाकोसी आयोजना सम्पन्न नभएकोमा प्रश्न समेत उठाउनुभयो । ‘सम्पन्न भैसक्नुपर्ने माथिल्लो कहिले बन्छ टुङ्गो छैन,’ देउवाले भन्नुभयो, ‘कांग्रेस सरकारले सुरु गरेको भेरी बबई आफैंले सुरू गरेको जस्तो गरी प्रस्तुत भएको छ । बुढीगण्डकीमा घात र खेलबाड गरिएको छ।’

उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट एक वर्षमा एउटा पनि रोजगारी श्रृजना नभएको बताउनुभयो । ‘सामाजिक सुरक्षा ऐन आफैंले ल्याए जसरी प्रस्तुत गरियो तर कार्यान्वयन गर्नेमा कुनै कदम चालेको छैन,’ देउवाले भन्नुभयो, ‘महिलालाई ठोस रोजगार कार्यक्रम छैन।’ ‘भएका विश्वविद्यालयलाई साधन स्रोत दिन नसकेको बेला नयाँ थप्ने भनिएको छ,’ देउवाले भन्नुभयो, ‘सम्भाव्यता, लागत, लाभ र स्रोतको व्यवस्थाबारे सरकार आफैं अनभिज्ञ छ।’

उहाँले चीन र भारत जोड्ने रेलमार्ग अनुदानमा मात्र निर्माण हुनुपर्ने टिप्पणी गर्नुभयो । ‘भारतबाट नेपालसँग एउटा जलमार्ग जोडिन पनि बाँकी तर प्रधानमन्त्रीद्धारा अहिले नै पानी जहाज आएको झैं सपना बाँडिएको छ । राणाकालदेखि चलेको स्टिमरलाई नयाँ आविस्कारका रूपमा प्रचार गरिएको छ,’ उहाँले भन्नुभयो ।

देउवाको सम्बोधन (पूर्णपाठ)