जनता टाइम्स

१३ फाल्गुन २०८०, आईतवार १२:५९

मैनबत्तीबाट सल्किएको आगोले घरमा आगलागी


रौतहट १३ फागुन । मैनबत्तीबाट सल्किएर रौतहटको कटहरिया नगरपालिका–५ स्थित १ घरमा आगलागी हुँदा करिब तीनलाख बराबरको धनमाल जलेर नष्ट भएको छ । कटहरिया ५ बजार छेउको बहादुरपुर गाउँका रामचन्द्र गोसाइँको खरको छाना भएको घरमा शनिबार राति साढे ८ बजे आगलागी भएको थियो । आगलागीबाट घर तथा घरमा रहेको अन्न, लत्ताकपडा, गरगहना जलेर झण्डै तीनलाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख बरिष्ठ सई अरुण कुमार सिंहको कमाण्डमा गएको प्रहरी टोली र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएको थियो ।

विद्युत् लाइन नरहेको समय घरमा बालेको मैनबत्तीबाट सल्किएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । पीडित गोसाईंका अनुसार आगलागीबाट घरमा रहेको सम्पूर्ण सामान जलेर नष्ट भएकाले महिला तथा बालबालिकालाई ठुलो कठिनाई भएको छ । प्रहरी तथा स्थानीयको सक्रियताले ठूलो क्षति हुनबाट जोगिएको छ । जलेर नष्ट भएको गोसाईंको घरको छेउ छाउमा एकदर्जन खरको छाना भएको घरहरू रहेको छ ।