जनता टाइम्स

१३ फाल्गुन २०८०, आईतवार १८:५६

अस्पतालमै नवजात शिशू छाडेर आमा बेपत्ता भएपछि


पर्सा, १३ फागुन । विरगञ्जस्थित नारायणी अस्पतालमा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार हुनुभएको छ ।

वीरगञ्जको नारायणी अस्पतालमा हिजो बिहान सीता देवी नाम दर्ता गराउनुभएको महिलाले छोरीलाई जन्म दिनुभएको थियो । सुत्केरी व्यथा लागेपछि शुक्रबार साँझ सासूसँग अस्पताल पुग्नुभएको उहाँले जन्म दिनुभएको शिशु स्वास्थ्य अवस्थामा सामान्य रहेको अस्पतालले बताएको छ । अस्पतालमा रानीघाट–६ वीरगञ्जको ठेगाना टिपाए उहाँहरूले दुवैजनासँग मोबाइल नभएको बताउनुभएको थियो ।

छोरी जन्मिएपछि सीतालाई परिवारका सदस्यले गाली गरेको स्वास्थ्यकर्मीले बताउनुभयो । अस्पतालमै पनि परिवारका सदस्यले तनाव दिए जस्तो देखिएको उहाँहरूको भनाइ छ । यसअघि सीताका तीन छोरी जन्मिएका थिए । उहाँहरू फागुन १२ गते दिनभर अस्पतालमै बस्नुभएको थियो । साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको आँखा छलेर हिँड्नुभएको हो । साँझपख बेडमा शिशु मात्रै देखेपछि स्वास्थ्यकर्मीले खोजी गरेका थिए, तर भेटिनुभएन ।

आज मध्याह्नसम्म पनि उहाँहरू नभेटिएको अस्पतालले जनाएको छ । छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर हिँडेको प्रसूति वार्डको नर्सिङ इन्चार्ज हेमा थापाले दिनुभयो । ‘अस्पतालमा सासु र बुहारी मात्रै आउनुभएको थियो । श्रीमान खोइ भन्दा कमाउन गएका छन् भनेर जवाफ दिनुभएको थियो,’ थापाले भन्नुभयो,‘छोरी जन्मेपछि सासु रिसाइरहनुभएको थियो । शिशु नै छोडेर जालान् जस्तो लागेको थिएन । हिजैदेखि खोजिरहेका छौं, भेटिएका छैन ।’

शिशु स्वस्थ रहेको र एनआईसीयूमा राखिएको थापाले बताउनुभयो । छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर हिँडेको अस्पतालको दाबी छ । अस्पताल वरपर खोजतलास गर्दा नभेटिएपछि अस्पताल प्रशासनले प्रहरीलाई जानकारी गराएको छ ।

उनीहरूले गलत ठेगाना टिपाएर गएकाले खोजीमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताउनुभयो । ‘उनीहरूले टिपाएको ठेगानामा त्यो नाम र हुलियाको मानिस भेटिएन । पहिले नै योजना बनाएर घटना घटाएको आशंका गरेका छौं,’ डीएसपी थापाले भन्नुभघो । अहिले उहाँहरूको खोजतलास जारी रहेको छ ।