इलाम, १५ फागुन । इलाम–माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ । रक्से बजारमा रहेको उहाँको सानो होटल सञ्चालनका लागि पानीका लागि उहाँलाई हरेक विहान डेढ घण्टाभन्दा बढी समय उकालो ओरालो गर्नुपर्छ । उहाँ मात्रै होइन यहाँका अधिकांशको विहानी पानी जोहोमै बित्ने गरेको छ । ‘बजारमा पानीको ठूलो समस्या छ । बजारभन्दा करिब एक किलोमिटर तल धाराखामबाट गाग्रीमा बोकेर जीविका चलाउनुपरेको छ,’ उहाँले भन्नुभयो,‘बिहान ३ बजेदेखि नै लाइन लागेर पानी थाप्नुपर्छ, पानी सानो भएकाले गाग्री भरिन समय लाग्छ । लाइन लाग्नुपर्दा कहिलेकाहीँ डेढ घण्टासम्म खर्चनुपर्छ ।’
सोही ठाउँकी कमलकुमारी राईको पीडा पनि उस्तै छ । उहाँले खानेपानीको व्यवस्थापन चिन्ताको विषय भएको बताउनुभयो । चिसोपानी पञ्चमीबाट अस्थायीरुपमा पाइपमार्फत ल्याएको पानी निकै कम भएकाले एक गाग्री पनि भर्न नपाइने उहाँको भनाइ छ । त्यसैले पानीको जोहो गर्न धाराखाममै जानु परेको उहाँले सुनाउनुभयो । ‘चिसोपानीबाट ल्याइएको पानी त विहान एक घण्टा मात्र आउँछ। कहिलेकाँही त एक गाग्री भर्नै नपाइ बन्द हुन्छ’, उहाँले भन्नुभयो, ‘त्यसैले धाराखाममा भर पर्नुको विकल्प छैन । कहिलेकाहीँ त ट्याङ्करबाट पानी किनेर समेत प्रयोग गर्नुपरेको छ ।’
रक्से बजारमा पानीको समस्याकै कारण विकासले गति लिन नसकेको स्थानीयको बझाइ छ । पानी अभावका कारण विकास निर्माणमा पछि परेको स्थानीयवासी सुनिता राईले बताउनुहुन्छ । ‘विकासको काम गर्न वा कुनैपनि संरचना बनाउनका लागि पानीकै आवश्यकता पर्दो रहेछ । यहाँ खानेपानी नै छैन, अन्य प्रयोजनका लागि त पानी झन् टाढाको कुरा भयो’, उहाँले भन्नुभयो,‘खानेपानीको व्यवस्थापन गर्न जनप्रतिनिधिसँग पटकपटक माग राखेका छौंँ, आश्वासन पनि नपाएको होइन तर भएन, यसपटक पम्पिङ सिस्टमबाट खानेपानी आउने आश्वासन पाएका छौं।’
रक्से बजारकी बसन्ता, कमलकुमारी र सुनिता मात्र होइन, यहाँका करिब ५० घरपरिवारले वर्षौंदेखि खानेपानीको लागि घण्टौँसम्म उकालोओरालो गर्नुपर्ने बाध्यता झेल्दै आउनुभएको छ । खानका लागि मात्र होइन, शौचालय जान, नुहाइधुवाइ गर्न, लुगाकपडा धुन तथा वस्तुभाउलाई खुवाउन झनै समस्या भोग्नुपरेको कमलकुमारी बताउनुहुन्छ । सरकारसँग चाँडो खानेपानीको दिगो व्यवस्थापन गरिदिन उहाँको माग छ ।
बोकेर ल्याएको पानीले खानै नपुग्ने अवस्थामा शौचालयमा प्रयोगलगायत अन्य प्रयोजनमा प्रयोग गर्न झनै समस्या हुने गरेको उहाँहरुको भनाइ छ । त्यस ठाउँमा खानेपानी आयोजना सञ्चालन नभएको भने होइन। तर, दिगो मुहान नभएका कारण समस्या झेल्नुपरेको स्थानीयवासी किरणकुमार राई बताउनुहुन्छ । ‘आर्थिक वर्ष २०६७र६८ मा मावाखोलाको शिर खालेधाराबाट अस्थायी खानेपानीको व्यवस्थापन गरेका थियौँ, त्यो पनि ६ महिना आउँछ त्यसपछि मुहान सुक्छ । असारमा मूल फुटेपछि मात्र आउँछ’, उहाँले भन्नुभयो, ‘अहिले त्यो पानी मुहान सुकेर बन्द भइसकेको छ, घण्टौँसम्म पर्खेर डोकोबाट पानी ओसार्नुको विकल्प छैन ।’
खानेपानीको माग गर्दै सरकारी निकाय, विकासे संस्थालाई गुहार्दासमेत आफूहरुको समस्या ज्यूँकात्यूँ रहेको स्थानीयको भनाइ छ । नजिकै खानेपानीको स्रोत नभएपछि सरकारी निकाय र विकासे संस्था समेत पन्छिएर जाने गरेको उनीहरुको गुनासो छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले आगामी वर्षसम्म एक सय ७१ घरधुरीका लागि पम्पिङ सिस्टमबाट वृहत खानेपानी आयोजना सञ्चालन हुने तयारी भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्