जनता टाइम्स

१६ फाल्गुन २०८०, बुधबार १९:१४

न्यायपालिका स्वाभाविक लय र गतिमा हिँड्न थालेको छ : प्रधानन्यायाधीश श्रेष्ठ


जनकपुरधाम, १६ फागुन । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अहिले स्वाभाविक लय र गतिमा हिँड्न थालेको बताउनुभएको छ । उच्च अदालत जनकपुरधामद्वारा आज जनकपुरधाममा आयोजित फरक मुद्दा व्यवस्थापन र यसको कार्यान्वयनको अवस्थासम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्दै श्रेष्ठले न्यायापालिकाको जिम्मेवारीमा रहेका सबैको सामूहिक प्रयास र प्रतिबद्धतापछि न्याय क्षेत्रमा सकारात्मक अवस्था सृजना भएको बताउनुभयो ।

उहाँले संविधान, आम नागरिक र राष्ट्रपतिको न्यायपालिकाप्रतिको अपेक्षा स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन हुनुपर्ने भन्दै सोहीअनुसार क्रियाशील हुन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,‘मुद्दाको फछ्र्यौट र बक्यौता न्यूनीकरणलाई वाञ्छितस्तरमा नल्याएसम्म सुधारका प्रयासले सार्थकता पाउन सक्दैनन् । न्याय सम्पादन र व्यवस्थापकीय पक्षमा सुधारका लागि अन्य थुप्रै प्रयास भइराखेका छन् । तिनलाई निरन्तरता दिने, नतिजामूलक बनाउने, संस्थागत गर्ने भूमिका र जिम्मेवारी हामी सबैको हो ।’

उहाँले थप्नुभयो,‘मैले जिम्मेवारी सम्हालेदेखि नै न्यायिक सुधारका विभिन्न पक्षमा आफूलाई केन्द्रित र समाहित गर्दै आएको छु । न्यायिक सुधारप्रति सबैको स्वामित्व र प्रतिबद्धता पनि देखिएको छ । सुधारका सङ्केत पनि देखिएका छन् । त्यसमा यहाँहरू सबैको सत्प्रयास र प्रतिबद्धता जरुरी छ ।’ त्यस्तै उहाँले उच्च अदालतको पछिल्लो नियुक्तिको कारण जिल्ला न्यायाधीश रिक्त हुन पुगेकामा पदपूर्तिको प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो ।

एक अर्को प्रसंगमा उहाँले सूचना र प्रविधिको प्रयोगमार्फत न्यायप्रणालीलाई सहज, सुलभ र छिटोछरितो बनाउन मुद्दाको अनलाइन रजिष्ट्रेसनको कार्य सर्वोच्च अदालतमा नमूनाका रुपमा प्रारम्भ गरी क्रमशः विस्तार गर्दै लैजाने तयारी अन्तिम चरणमा रहेको बताउनुभयो । त्यस्तै, उहाँले अनुचित लेनदेनबाट धेरै नागरिक समस्यामा परेको विषयका मुद्दा अदालतमा आउँदा इमान्दारितापूर्वक न्याय दिने मनसायका साथ हेर्नुपर्ने आवश्यकताका बारेमा पनि सचेत रहन सबैलाई ध्यानाकर्षण गराउनुभयो ।