जनता टाइम्स

७ आश्विन २०७६, मंगलवार १२:५१

सम्पत्ति शुद्धीकरणको छानबिनमा अख्तियारका पूर्वप्रमुख आयुक्त–आयुक्त : आफन्तको सम्पत्ति पनि छानविनमा


काठमाडौं, असोज ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त र आयुक्तमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानविन अघि बढाएको छ । पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसँग एक अर्व भन्दा बढी अकुत सम्पत्ति रहेको उजुरीपछि बिभागले छानविन थालेको हो । विभागले अकुत सम्पत्ति रहेको निश्कर्षसहित अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यात र पूर्वआयुक्त राजनारायण पाठकमाथि छानबिन अघि बढाएको हो ।

बस्न्यातसँग अर्बभन्दा बढी सम्पत्ति रहेको उजुरीका आधारमा अनुसन्धान थालिएको हो । यद्यपि, हालसम्मको अनुसन्धानमा उनकै नाममा मात्र धेरै सम्पत्ति नदेखिएको स्रोत बताउँछ । बस्न्यातले आफ्नो भन्दा परिवारका सदस्यको नाममा लगानी गरेको पाइएको बिभाग स्रोतको भनाई छ । बिभागले अनुसन्धानकै क्रममा बस्न्यातको होटेल, रिसोर्ट, ब्यांक्वेट तथा म्यानपावर कम्पनीमा भएको लगानीको विवरण संकलन गरिसकेको छ । आफन्तहरूको नाममा धेरै सम्पत्ति रहेको सूचना पाएपछि विभागले त्यसतर्फ अनुसन्धान केन्द्रित गरेको हो । बालुवाटारको जग्गा प्रकरणमा अख्तियारले यसअघि नै बस्न्यातसँग बयान लिइसकेको छ । सो जग्गामा बस्न्यातको संलग्नता देखिएपछि पूर्व प्रमुख भएपनि बयान लिइएको अख्तियारले जनाएको छ ।

बस्न्यात भौतिक योजना मन्त्रालयको सचिव हुँदा सो जग्गा मोहीलाई दिनेसम्बन्धी प्रस्ताव अघि बढाएका थिए । अख्तियारको प्रमुख आयुक्त हुँदा धेरै गम्भीर उजुरी तामेलीमा राखेपछि विवादमा मुछिएका हुन । हरेक आर्थिक अपराधका घटनामा बस्न्यातको नाम जोडिएपछि सम्पत्ति सुद्धिकरण बिभागले अबैध धनमाथि अनुसन्धान अघि बढाएको हो । त्यस्तै, अख्तियारको आयुक्त हुँदा ७८ लाख घुस प्रकरण सार्वजनिक भएपछि राजीनामा दिन बाध्य भएका पाठकको सम्पत्ति पनि छानविन भएको हो ।

पाठकबिरुद्ध अख्तियारले यसअघि नै मुद्दा चलाइसकेको छ । नेपाल इन्जिनियरिङ क्याम्पसको विवादमा लम्बोदर न्यौपानेको पक्षमा निर्णय गराइदिने भन्दै पाठकले घुस लिएको तथ्य खुलेपछि पदबाट राजीनामा दिनुपरेको हो । काम पनि नगरेको र घुस पनि फिर्ता नगरेपछि घुस लेनदेन कुराकानीको भिडियो बनाएर आयोगमा उजुरी परेको थियो । पाठक ७८ लाख धरौटी बुझाएर छुटेका छन । लामो समय महान्यायाधिवक्ता कार्यालयमा काम गरेका पाठक करिब चार वर्षसम्म अख्तियारमा आयुक्तको जिम्मेवारीमा थिए । अख्तियारमै रहँदा अकुत सम्पत्ति आर्जन गरेको उजुरी परेपछि सम्पत्ति शुद्धीकरण विभागले विस्तृत अनुसन्धान थालेको हो ।