जनता टाइम्स

७ आश्विन २०७६, मंगलवार १३:१७

डेङ्गुको जोखीमका कारण पर्यटक आउँन डराए


काठमाडौँ, असोज ७

गत साउन महीनादेखि डेङ्गुको बढ्दो सङ्क्रमणका कारण देशको पर्यटकीय क्षेत्रमा ठुलो असर परेको छ । सङ्क्रमणका कारण चितवन भरतपुर र आसपासका पर्यटकीय होटलमा पनि पर्यटकको चहलपहल कम भएको छ । भदौ १५ गतेपछि सौराहामा पर्यटकको आगमन बढ्ने गरेकोमा यस वर्ष भने न्यून सङ्ख्यामा आएका छन् ।

चितवनस्थित क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईका अनुसार विगत वर्षहरुमा यतिबेला दैनिक एक हजार हाराहारी पर्यटक सौराहा भित्रने गर्थे । तर, यस वर्ष यो सङ्ख्या २००को हाराहारी मात्र छ । यस वर्ष बसमा आउने पर्यटक दैनिक २०–३० को हाराहारी रहेका छन् भने समूहमा आउने २०० भन्दा कम छन् । गत वर्षमा समूहमा आउने पर्यटक र बसमा आउने पर्यटक पाँच–पाँच सय हाराहारी हुने गरेको उहाँको भनाइ थियो ।

सौराहाबाट दैनिक छ वटा बस काठमाडौँ र दुई वटा बस पोखरा चल्ने गर्दछन् । ती बसमा न्यून पर्यटक मात्र आउने गरेका छन् । अहिले जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारण चढ्ने गरेका कारण ती बसले खर्च धानेको जनाइएको छ । सौराहा क्षेत्रमा डेङ्गु नदेखिए पनि जिल्लाको शहरी क्षेत्रमा डेङ्गु देखिएकाले त्यसैको हल्लाका कारण देशदेखि बिदेशबाट आउने पर्यटक घटेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

रत्ननगर नगरपालिकामा हालसम्म १३५ मा डेङ्गुको सङ्क्रमण देखिएको छ । सौराहाका १२० होटलको सात हजार हाराहारी पर्यटक अटाउने क्षमता भए पनि यहाँ डेङ्गुको सङ्क्रमण छैन भन्ने सन्देश समयमा नै पुर्याउन सकेमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने व्यवसायीहरूले बताएका छन् ।