जनता टाइम्स

२३ फाल्गुन २०८०, बुधबार १४:१५

प्रदेश राजनीति : आफ्ना मन्त्री हटाएलगत्तै माओवादीले फिर्ता लियो समर्थन


रूपन्देही, २३ फागुन । लुम्बिनीमा माओवादी केन्द्रले नेपाली काङ्ग्रेसलाई दिएको समर्थन फिर्ता लिएको छ । यसअघि मुख्यमन्त्रीले माओवादीका दुई मन्त्री हटाइसक्नुभएको छ यसको बदलामा माओवादीले कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएको हो । माओवादी केन्द्रबाट सरकारमा सहभागी २ जना मन्त्रीलाई आजै मुख्यमन्त्रीले बर्खास्त गरेपनि माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको आजको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

केन्द्रमा बनेको सत्ता गठबन्धनका ४ दल मध्ये लुम्बिनी प्रदेशसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन । ८७ सदस्यीय प्रदेश सभामा राप्रपाका सांसद जानकीप्रसाद यादव काठ विक्री प्रकरणमा भ्रष्टाचार आरोपमा मुद्दा दर्ता भएपछि निलम्बनमा छन् । सभामुख सहित ८६ सांसद मध्ये सरकार बनाउन वहुमतका लागि ४४ सांसद चाहिन्छ । यहाँ सबैभन्दा ठूलो दल नेकपा एमालेका २९, माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका ३ सांसद छन् ।

तीन दलका सांसद संख्या ४३ मात्र हुन्छ । अर्थात बहुमत पुग्न एक सांसदको कमी हुने अवस्था छ । १० दलको उपस्थिति रहेको प्रदेश सभामा दोस्रो ठूलो दल नेपाली कांग्रेसका २७, नागरिक उन्मुक्ति पार्टीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ (निलम्बित वाहेक), लोकतान्त्रिक समाजवादी पार्टीका ३, जनमत पार्टीका ३, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक–एक जना सांसद छन् ।

सत्ता गठबन्धनका दलहरुको मात्रै बहुमत नपुगे पनि माओवादीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएर जितेका नवलपरासी पश्चिमका खड्ग बस्नेतले विगतमा जस्तै नयां गठबन्धनलाई समर्थन गर्ने निश्चित र साना दलहरुको रुझान पनि सरकारमा जान लालायित देखिएकाले सुविधाजनक वहुमत पुग्ने नेकपा एमालेका प्रमुख सचेतक तुल्सीप्रसाद चौधरीले बताउनुभयो ।