ताप्लेजुङ, २४ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ताप्लेजुङको अधिवेशन वैशाख अन्तिम सातामा हुने भएको छ । एमाले जिल्ला कमिटी सचिवालय बैठकले वैशाख २४ र २५ मा १२ औँ जिल्ला अधिवेशन गर्ने निर्णय गरेको जिल्ला उपसचिव मणिशङ्कर पोमूले जानकारी दिनुभयो। जिल्लाको नयाँ नेतृत्व चयन गर्नेगरी पार्टीको जिल्ला अधिवेशनको मिति तय गरिएको उहाँले सुनाउनुभयो ।
उहाँका अनुसार वैशाखमा हुने जिल्ला अधिवेशनले नयाँ कमिटी चयन गर्नेछ । जिल्ला अधिवेशनको टुङ्गो लागेसँगै नेतृत्वका लागि आकाङ्क्षा राख्नेहरू पनि बढ्दै गएको पाइएको छ । एमाले ताप्लेजुङको आगामी नेतृत्वका लागि वर्तमान जिल्ला कमिटी उपाध्यक्ष सन्तोष खतिवडा, पूर्वअध्यक्ष बलबहादुर साम्सोहाङ, पूर्व–उपसचिव गोपाल थोप्रा, संविधानसभा सदस्य डम्बरध्वोज तुम्बाहाम्फे लगायतको नाम चर्चामा आउन थालेको छ ।
जिल्ला अधिवेशनबाट सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्नेगरी पहल हुने एमाले जिल्ला सचिव केशरकुमार सुब्बाले बताउनुभयो । अन्तिमसम्म सर्वसम्मतका लागि पहल हुने र सहमति नजुटेमा मात्र अन्तिम विकल्पका रूपमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अपनाइने उहाँको भनाइ छ। जिल्ला अध्यक्ष बाहेकका पदमा पनि आकाङ्क्षीहरू धेरै जना भएको बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्