जनता टाइम्स

२४ फाल्गुन २०८०, बिहीबार १९:१२

गण्डकी प्रदेश सभाको अधिवेशन नौ दिनमै अन्त्य


पोखरा, २४ फागुन । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन नौ दिनमै अन्त्य गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भोली बेलुकी राति १२ बजेबाट अधिवेशन अन्त्य गर्नेगरि विज्ञप्ति जारी गर्नुभएको छ । प्रदेश प्रमुख कार्यालयका शाखा अधिकृत प्रमीला गौतमले आज प्रकाशित गर्नुभएको प्रेस विज्ञप्तिमा संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरिएको उल्लेख गरिएको छ ।

गएको फागुन ६ गते मन्त्रिपरिषद्को सिफारिस प्रदेश प्रमुख गुरुङले फागुन १६ गतेबाट हिउँदे अधिवेशन आह्वान गर्नुभएको थियो । यसपालिको हिउँदे अधिवेशनबाट दुई विधेयक पारित भएका छन् । प्रदेशसभाको सोमबारको बैठकले गण्डकी प्रदेशमा बिउँबिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको थियो ।

यो अधिवेशनमा तीन वटा मात्रै बैठक भएका छन् । सङ्घमा सत्ता गठबन्धन परिवर्तन भएपछि गण्डकी सरकार अहिले अल्पमतमा छ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले हिजो सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसंहार गर्ने सम्बन्धमा बनेको विधेयक र गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक सदनमा छलफलका क्रममा थिए ।