जनता टाइम्स

८ आश्विन २०७६, बुधबार ०६:५०

सभामुख र कजाखस्तानका प्रधानमन्त्रीबीच शिष्टाचार भेटवार्ता, कजाखस्तानले व्यापार र लगानीलाई अभिवृद्धि गर्ने


काठमाडौं, असोज ८ । युरेशियाली देशका सभामुखहरुको चौथो बैठकमा सहभागी हुन कजाखस्तान जानुभएका सभामुख कृष्णबहादुर महरा र कजाखस्तानका प्रधानमन्त्री अस्कर मामिनबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्तामा दुई देशबीचको सम्बन्ध, पारस्परिक सहयोग, व्यापार र लगानीलाई अभिवृद्धि गर्ने लगायतका बारेमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिनुभयो । नेपाल र कजाखस्तानबीचको सम्बन्ध राम्रो रहेको बताउँदै सभामुख महराले आगामी दिनमा कूटनीतिक तथा राजनीतिक सम्बन्धलाई थप सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

सभामुख महराले नेपालले सन् २०२० लाई भ्रमण वर्षका रुपमा घोषणा गरेको जानकारी दिनुहुँदै नेपाल भ्रमणका लागि कजाखस्तानका प्रधानमन्त्रीलाई अनुरोध गर्नुभयो ।

साथै आफ्नो देशका नागरिकलाई नेपाल भ्रमणका लागि प्रेरित गरिदिन पनि महराले आग्रह गर्नुभएको थियो । महराले युरेशिशन देशका सभामुखहरुको बैठक आयोजना गरेकामा प्रधानमन्त्री मामिनलाई धन्यवाद व्यक्त गर्नुभयो ।

भेटवार्ताका अवसरमा कजाखस्तानका प्रधानमन्त्री मामिनले नेपालसँगको सम्बन्ध थप सुदृढ गर्न र व्यापार तथा अन्य क्षेत्रमा लगानी अभिवृद्धि गर्न इच्छुक रहेको बताउनुभयो । युरेशियन देशहरुका सभामुखहरुको बैठकको अवसरमा नेपालको प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।