जनता टाइम्स

३० फाल्गुन २०८०, बुधबार १८:४६

फतुवा बिजयपुरका शिक्षकद्वारा वार्षिक परीक्षा बहिष्कारको घोषणा, ६ हजार विद्यार्थीको भविष्य अन्यौल


रौतहट ३० फागुन । रौतहटको फतुवा बिजयपुर नगरक्षेत्रअन्तर्गत तलबको माग गर्दै धर्नामा बसेका शिक्षकले भोलीदेखि सञ्चालन हुने वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेको छ। शिक्षकहरूको निर्णयसँगै नगर क्षेत्रका ६ हजार विद्यार्थीको भविष्य अन्यौल बनेको छ । नगर शिक्षा संयोजक शिक्षक राधेश्याम यादवको अध्यक्षतामा आज बसेको शिक्षकहरूको बैठकले भोलिदेखि हुने भनिएको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेको हो । पटक–पटक आश्वासन मात्र पाउने र तलबकै लागि सधैँ आन्दोलन गर्नुपर्ने भएकाले अब उधारोमा सहमती नहुने शिक्षा संयोजक यादवले बताएका छन् ।

जब सम्म सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीको खातामा हालसम्मको तलब जाँदैन तबसम्म हामी परीक्षा सञ्चालन नगर्ने निर्णय गरिएको संयोजक यादवले जानकारी दिनुभयो । फतुवा बिजयपुर नगरपालिकाका ३२ वटा विद्यालय रहेको छ । प्रस्तावित सहित ७ मावि, ४ निमावि र २१ वटा प्राथमिक विद्यालय रहेको छ। ती सम्पूर्ण विद्यालयमा गरी कूल २०४ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको मावि सितलपुरका प्रधानाध्यापक बुनिलाल राय यादवले बताउनुभयो । त्यहाँ रहेको ३२ विद्यालयमा कक्षा १ देखि ९ सम्मको झण्डै ६ हजार रहेका विद्यार्थीहरू भोलिदेखि हुने वार्षिक परीक्षामा सहभागी हुने रहेका थिए ।

यसरी शिक्षकहरूको तलबको विवादकै कारण भोलिदेखि हुने वार्षिक परिक्षा नभएमा फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गत कक्षा १ देखी ९ सम्मका ६ हजार बालबालिकाको भबिश्य अन्यौल हुने देखिएको छ । नगरपालिका अन्तर्गत कार्यरत शिक्षकहरू बुधबार तलबको माग गर्दै पुनः धर्नामा बसेका थिए । हिन्दूहरूको महान पर्व होली आउनमात्र १० दिन बाँकी छँदा तलब पाउने सम्भावना झिनो देखिएको कारण त्यहाँका शिक्षक कर्मचारी पुनः आन्दोलित भएका हुन् ।

नगरक्षेत्रअन्तर्गतका शिक्षक र शिक्षिकाहरू आज कार्यालय समय सुरु हुनासाथ बिहान १० बजेदेखि नगरपालिका अगाडी धर्नामा बसेका थिए । नगरभरीको शिक्षकहरूको भेलाले आज अपरान्ह ४ बजे भोलिदेखिको वार्षिक परीक्षा बहिस्कार गर्ने निर्णय गरेका छन् । फतुवा विजयपुरका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले पाँच दिनभित्र जुन हालतमा पनि शिक्षक र कर्मचारीको तलब निकासा हुने बताउनुभयो । फतुवा बिजयपुर नगरपालिकामा कांग्रेस पार्टीबाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेन्डरमा दोषी ठहर भएर अख्तियारद्वारा दण्डित भई पद गुमाएपछि कांग्रेसकै उपमेयर अम्बेया खातुन गत वर्षदेखि कार्यबाहकको जिम्मेवारीमा रहनुभएको छ ।