काठमाडौं, चैत १ । नक्कली सुन धितो राखेर नेपाल बैंकको ४ करोड १४ लाख रुपैयाँ भन्दा बढी रकम ठगी गर्ने नटवरलाललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बैंक ठगी आरोपमा सप्तरीको कञ्चनरुप गाउँपालिका–८ निवासी ४१ वर्षीय टोकनाथ साहलाई पक्राउ गरेको हो ।
नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखी ४ करोड १४ लाख ८४ हजार कर्जा लिएको र सो कर्जा नतिरी फरार रहेका साहलाई उच्च अदालतले ३ वर्ष कैद र करिब १ करोड बिगो भराउने फैसला सुनाएको थियो । अदालतका फैसलापछि लुकीछिपी बस्दै आएका साहलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको हायात होटलबाट फागुन २८ गते सोमवार पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार साहले लव वलीसहित विभिन्न व्यक्तिलाई अमेरिका पठाइदिने भनेर १ करोड भन्दा बढी रकमसमेत ठगी गरेको पाइएको छ । साहले बेरोजगार युवा-युवतीलाई विदेश पठाउने प्रलोभनमा पार्न आफ्नो जीवनशैली रवाफपूर्ण देखाउने, आफू अमेरिकाका सम्पूर्ण ठाउँ घुमे जसरी व्याख्या गर्ने, कोटा धेरै भएकाले पहिला जो आउँछ, उही जान्छ भनी आफूलाई एकदम व्यस्त देखाउने र पीडितलाई प्रभावमा पारी ठगी गर्ने गरेको तथ्य अनुसन्धानको क्रममा खुलेको छ ।
उनले असली नाम लुकाएर आफूलाई दीपक सोनी भनेर चिनाउने गरेको र विभिन्न व्यक्तिलाई प्रयोग गर्ने गरेको पाइएको छ । प्रहरीका अनुसार साहले आफ्नो आपराधिक सञ्जाल फैलाउन र सञ्चालनका लागि विभिन्न कम्पनीका १५ थान सिम प्रयोग गर्दै आएको भेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्