जनता टाइम्स

१ चैत्र २०८०, बिहीबार १४:००

एमाले उदयपुरको नवौँ जिल्ला अधिवेशन चैत १३ गते, अध्यक्ष ओलीले उद्घाटन गर्ने


उदयपुर, १ चैत । नेपाल कम्युनिस्ट पार्टी (एमाले) उदयपुरको जिल्ला अधिवेशन चैत १३ गते हुने भएको छ । नवौँ जिल्ला अधिवेशन तयारीका लागि हिजो उदयपुरको गाईघाटमा बैठक बसेको हो ।

एमाले जिल्ला अध्यक्ष प्रमेश्वर घिमिरेका अनुसार चैत्र १३ गते अधिवेशनको उद्घाटन हुने छ भने १४ गते आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ । अधिवेशन सम्पन्न गर्नका लागि मूल आयोजक समितिसहित १३ वटा उपसमिति गठन गरिएको छ । यस्तै चैत ६ गते भित्रमा जिल्लाका आठबाटै पालिकाले सबै जनवर्गिय संगठनबाट प्रतिनिधि छनौट गरिसक्नु पर्नेछ ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने र पार्टीका पदाधिकारी, स्थायी कमिटीका सदस्य लगायतका नेताहरु उपस्थित हुने सो अधिवेशनमा जिल्ला भरिका करिब ६ सय ५० जना प्रतिनिधिहरु सहभागी हुने एमाले जिल्ला अध्यक्ष घिमिरेले बताउनुभयो ।

सो अधिवेशनमा मूल आयोजक समिति, राजनीतिक प्रतिवेदन लेखन, आर्थिक, सांस्कृतिक, हल व्यवस्थापन, अतिथि सत्कार, खाद्यान्न व्यवस्थापन, स्वास्थ्य, प्रचार प्रसार उपसमिति गठन गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो ।