काठमाडौं, १ चैत । रामेछाप–काठमाडौं पत्रकार समाजले काठमाडौंमा फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ । रामेछापबाट काठमाडौं उपत्यकामा आएर विभिन्न पेशा, व्यवसायमा संलग्न तथा संघ–संस्थामा आबद्ध जिल्लाबासीहरुलाई लक्षित गरी चैत १० गते शनिबारदेखि ‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’ गर्न लागेको संस्थामा अध्यक्ष दीपेन्द्र गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार कपअन स्पोर्टस् सेन्टर बालुवाखानी कपनमा हुने प्रतियोगितामा व्यक्तिगत एवं संस्थागत रुपमा रामेछाप जिल्लाबासीले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा ८ जनासम्म खेलाडी सहभागी हुन पाउनेछन् ।
प्रतियोगितामा विजेतालाई प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगदसहित शिल्ड पुरस्कार रहेको रामेछाप–काठमाडौं पत्रकार समाजका उपाध्यक्ष यसिमा महतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘रामेछाप जिल्लाबाट काठमाडौं उत्पयकामा रहेका व्यक्ति तथा संस्थालाई लक्षित गरी फुटसल प्रतियोगिताको आयोजना गरिएको हो । यसपटक पुरस्कार राशी पनि अघिल्लोपटक भन्दा दोब्बर बनाएका छौं ।’ उपाध्यक्ष महतले रामेछाप जिल्लाबाट काठमाडौं उत्पयकामा रहनुभएको व्यक्ति तथा संस्थालाई लक्षित गरी फुटसल प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
प्रतियोगिताका लागि टीम दर्ता हुनेक्रम सुरु भइसकेको समाजका सदस्य सुवास सुनुवारले जानकारी दिनुभयो । ‘हामीले टीम दर्ता सुरु गरिसकेका छौं । यो प्रतियोगिता मात्र नभई रामेछापबासीबीच आपसी सद्धाव बढाउने र खेलप्रति प्रोत्साहन गराउने उद्देश्यले आयोजना गरेका हौं । यसपटक पनि रामेछापका युवा खेलाडीको उत्साहजनक सहभागिता हुने आशा गरेका छौं ।’ उहाँले भन्नुभयो,‘चैत ९ गतेभित्र टीम दर्ता गराइसक्नुपर्नेछ ।’
यसअघि लिखु भुजी युवा क्लब रामेछापलाई ट्राइब्रेकरमा २–० ले पराजित गर्दै अनेरास्ववियुले प्रथम रामेछाप कप फुटसलको उपाधि जितेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा महाकाली युवा क्लबलाई २–० ले पराजित गर्दै डाइनामिक युथ तेस्रो भएको थियो । गत संस्करणमा विजेतालाई प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार राखिएको थियो । अघिल्लो संस्करणमा जिल्लाका २७ टोली सहभागी भएका थिए । रामेछाप–काठमाडौं पत्रकार समाज रामेछापबाट काठमाडौं उपत्यकामा आएर पत्रकारिता कर्ममा सक्रिय पत्रकारहरुको साझा संस्था हो । संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्