जनता टाइम्स

१ चैत्र २०८०, बिहीबार १७:२७

कांग्रेसले आफूसँग दुईतिहाई छजस्तो दम्भ देखाएकोले सरकारबाटै हट्नुपर्यो : केपी ओली


कञ्चनपुर, चैत १ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नटेर्नेहरू सिद्धिने ठोकुवा गर्नुभएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं ६ मा आज आयोजित भवन उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो ठोकुवा गर्नुभएको हो ।

उहाँले कांग्रेसप्रति लक्षित गर्दै एमालेलाई नटेर्ने शक्ति सिद्धिने प्रष्ट पार्नुभयो । ‘एमाले एउटा यस्तो शक्ति हो, जसलाई पुरै आँखा चिम्लेर नकार्छु, टेर्दिनँ भन्नेहरू सिद्धिन्छन,’ अध्यक्ष ओलीले भन्नुभयो । एमालेलाई हेप्नेहरूले गम्भीरु धोका खानेसमेत ओलीले बताउनु भयो ।

कांग्रेसले आफूसँग दुई तिहाई छजस्तो गरेकाले सरकारबाटै हट्नु परेको अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो । ‘कांग्रेसले आफूसँग दुई तिहाई छजस्तो गरेकाले सरकारबाटै हट्नु परेको हो । उस्ले एमाले जस्तो पार्टीलाई टेरेन । आज परिणाम भोग्यो,’ अध्यक्ष ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले मुलुक र जनताको सवालमा सवै दल एक ठाउँमा उभिनुपर्ने आजको आवश्इकता पनि औंल्याउनु भयो । ‘हामी लोकतान्त्रिक प्रणालीमा छौं । बहुदलीय व्यवस्थामा छौं । दलहरू फरक–फरक हुन्छन । विचार फरक–फरक होला । तर, संविधानको रक्षा, देशको एकता, मुलुकको सार्वभौम सत्ता र भूमिको रक्षाका लागि सरकार अगाडि बढ्नुपर्छ, यस्तो काम गर्ने सरकारलाई जनताले साथ दिनुपर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामिलामा सबै दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि औल्याउनु भयो । ’सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टहरूलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्न जरुरी छ,’ ओलीको भनाई थियो ।

दोधारा चाँदनी वडा नं ६ का वडाअध्यक्ष ओमकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष ओलीले वडा कार्यालयको नवनिर्मित भवनको उदघाटनसमेत गर्नुभयो । सो क्रममा अध्यक्ष ओलीले प्रसंसनीय काम गरेको भन्दै वडाध्यक्ष बस्नेतलाई र नगरपालिकाका प्रमुखलाई धन्यवादसमेत दिनुभएको छ ।