जनता टाइम्स

१ चैत्र २०८०, बिहीबार २३:०४

७७ वटै जिल्लाका सिडिओ र प्रहरी प्रमुखलाई गृहमन्त्रीको १० बुँदे निर्देशन, बेतिथी अन्त्य गरी सेवाग्राहीको काम तत्कालै गर्नुपर्ने बटमलाइन


काठमाडौं, चैत १ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले दण्डहिनताको अन्य र फरार अभियुक्त नियन्त्रणलगायत तत्काल देखिने काम गर्न ७७ वटै जिल्लालाई निर्देशन दिनुभएको छ । गृहमन्त्री लामिछानेले आज साँझ जिल्ला सुरक्षा समितिका अधिकारीहरुलाई यस्तो निर्देशन दिनुभएको हो ।

आज साँझ मन्त्रालयबाट भर्चुअल बैठकमार्फत सम्बोधन गर्दे गृहमन्त्री लामिछानेले जिल्ला सुरक्षा समितिका अधिकारीहरुलाई निर्देशन दिनुभयो ’दण्डहिनताको अन्त्य र फरार अपराधीको नियन्त्रणमा तत्काल देखिने गरी काम गर्नुहोस,’ गृहमन्त्री लामिछानेको निर्देशन थियो ।

उहाँले अबको तीन महिनाभित्र गृह मन्त्रालयको हरेक सूचक माथि जाने गरी काम गर्नुपर्ने बटमलाइनसमेत सुनाउनु भयो । ’अबको ९० दिनमा गृह मन्त्रालयका हरेक सूचक माथि जानुपर्छ । गएन भने गम्भीर समीक्षा हुन्छ । र, काममा आलटाल गर्ने, निर्देशन पालना र लक्ष्य पूरा नगर्नेको मूल्यांकन हुन्छ,’ गृहमन्त्री लामिछानेको भनाई थियो ।

गृहमन्त्री लामिछानेले गृहमा नेतृत्व परिवर्तन भएको महसुस भोलिबाटै नागरिकले गर्नुपर्ने बटमलाइन पनि सुनाउनु भएको छ । ‘ तस्करी नियन्त्रण गर्न, सुरक्षा कायम गर्न, प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न र गुण्डागर्दी नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु पर्दैन । गृह मन्त्रालय हिजो कसरी चलेको थियो ? थाहा छैन, अब हिजोको जसरी चल्दैन । गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस नागरिकले भोलि नै महसुस गर्नुपर्छ,’ गृहमन्त्री लामिछानेको निर्देशन छ ।

गृहमन्त्री लामिछानेले अव सरुवा र बढुवामा भनसुन नचल्ने र कसैबाट सिफारिश आए उल्टै कार्वाही गर्ने जनाउ पनि दिनुभयो । ‘ तपाईंहरुको राजनीतिक नेतृत्वसँग सुसम्बन्ध नै रहोस । तर, तपाईंको स्वार्थमा उनीहरु (राजनीतिक नेतृत्व) बाट मलाई, मेरो सचिवालयलाई, परिवारलाई सरुवा–बढुवाको चिट आउने, गल्ती गर्दा बचाउन सिफासिर गर्ने विद्यमान प्रवृत्ति स्वीकार्य हुँदैन,’ गृहमन्त्रीले भन्नुभयो, ‘अमूक नेता, तस्कर, स्वार्थ समूहले फलानो मान्छे चाहियो भन्यो भने जसको नाम आउँछ, उसलाई चाहिँ कारबाही गर्छु । दण्डहीनताको अन्त्य र फरार अपराधीको नियन्त्रणमा तत्काल देखिने गरी काम गर्नुहोस ।’

उहाले गृह प्रशासनकै कारण सत्यसँग पनि डगमगाउने समाज बनाएको रसहज रुपमा न्याय र सुरक्षा पाइँदैन भने मान्छे निरास हुने भन्दै अहिलेको अवस्था त्यही हो । यो अवस्था चिर्ने दायित्व गृह प्रशासनकै भएको पनि बताउनु भयो । कार्यक्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँबर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओकप्रकाश जोशीले पनि जिल्ला सुरक्षा समितिका अधिकारीलाई सुरक्षा, सुशासन, सेवा प्रवाह, नागरिक सेवालगायत विषयमा निर्देशन दिनुभएको थियो ।

यस्ता छन निर्देशन 

१. गृह मन्त्रालयले राम्ररी काम गर्न सक्यो भने नागरिकले सरकार छ भन्ने अनुभूत गर्छन । तर, यो देशमा मान्छे नचिन्दा कुनै काम हुँदैन भन्ने भाष्य निर्माण भएको छ । हामीले सत्यसँग पनि डगमगाउने समाज बनाएका छौं । त्यस्तो समाज बस्न लायक हुँदैन । सहज रुपमा न्याय र सुरक्षा पाइँदैन भने मान्छे निरास हुन्छ । अहिलेको अवस्था त्यही हो । यो अवस्था चिर्ने दायित्व गृह प्रशासनकै हो ।

२. सरकारले अधिकार दिएका हामीले प्रभावकारी काम गर्न नसक्दा नै समाजमा निरासा बढ्यो । बेथितिमा रमाउने बानी पर्यो । समाज कस्तो हुनुपर्छ भन्ने हामीले बिर्सिसक्यौं । मलाई भन्दा तपाईंलाई थाहा छ, कहाँ बिग्रिएको छ ? र कहाँ सुधार्नु पर्छ भन्ने कुरा । तर, खै त बिग्रिएको सुधारेको ?

३. अब एकपटक समस्या समाधानको प्रण गरौं । प्रत्येक दिन नागरिकसँग ठोक्किने तपाईं नै हो सरकार, सुधार तपाईंहरुबाटै सुरु गर्नुपर्ने हो । जिम्मेवार भएर काम गर्ने शैली थोरै परिवर्तन गर्दा परिणाम आउँछ । एक÷दुई जनाले राज्यलाई चुनौती दिइरहेका छन । तर, हामी मौनजस्तै छौं । यो क्रम कहिलेसम्म ?

४. निर्देशनमा होइन, टीमको सदस्यका रुपमा रुपमा योजनाबद्ध र प्रभावकारी काम गरौं । समाजमा रहेका गलत पात्र र प्रवृत्ति तपाईंहरु नै चिन्नुहुन्छ भने सुधारमा के समस्या रह्यो त ? मेरो तर्फबाट कानून पालना गर्ने पूर्णअधिकार तपाईंहरुसँग छ । त्यसको पूर्ण कार्यान्वयन गर्नुस । कानुनभन्दा माथि निर्देशन हुन सक्दैन । आफ्नो अधिकार राजनीतिक नेतृत्वलाई नसुम्पनुस ।

५. चोटा कोठामा दौडने काम हाम्रो हो, सेवाग्राहीको होइन । तस्करी नियन्त्रण गर्न, सुरक्षा कायम गर्न, प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न र गुण्डागर्दी नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु पर्दैन । गृह मन्त्रालय हिजो कसरी चलेको थियो ? थाहा छैन, अब हिजोको जसरी चल्दैन । गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस नागरिकले भोलि नै महसुस गर्नुपर्छ । कति दिन रहन्छु थाहा छैन । जति रहन्छु राम्रो गर्छु । नागरिकलाई आशा दिनुबाहेक मेरो स्वार्थ छैन ।

६. सबैतिर निषेधित क्षेत्र लोकतन्त्रको भद्दा मजाक हो । सुरक्षाको बहानामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने ठाउँ खुम्च्याउनु हुँदैन । अराजकता र सस्तो लोकप्रियताका लागि अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग भइरहेको छ भने त्यसलाई रोक्नुस । होइन, उनीहरुले प्रमाणित र तथ्यपूर्ण कुरा गरेका छन भने प्रमाणका साथ कानूनले जे भन्छ त्यही गर्नुस ।

७. समस्या लिएर आउनेको तत्काल काम गरिदिनुस । काम नहुने छ भने कारण भनेर कन्भिन्स गरिदिनुस । नागरिक समस्या लिएर सिंहदरबार आउनु नपरोस । समाधान नभएका समस्या चाहिँ तपाईंहरु मार्फत सिंहदरवार आओस ।

८. साहु महाजनले गरीबलाई नतर्साओस । पीडितको पक्षमा उभिनुस । पीडितलाई थप पीडा दिने काम नगर्नुस । किसानका समस्यालाई प्राथमिकता दिनुहोस । अवैध आयात नियन्त्रण गर्नुहोस । नेपाली उत्पादनले बजार नपाउने, अवैध आयात भइरहने क्रम रोकिनै पर्छ ।

९. तपाईंहरुको राजनीतिक नेतृत्वसँग सुसम्बन्ध नै रहोस । तर, तपाईंको स्वार्थमा उनीहरु (राजनीतिक नेतृत्व) बाट मलाई, मेरो सचिवालयलाई, परिवारलाई सरुवा–बढुवाको चिट आउने, गल्ती गर्दा बचाउन सिफासिर गर्ने विद्यमान प्रवृत्ति स्वीकार्य हुँदैन । अमूक नेता, तस्कर, स्वार्थ समूहले फलानो मान्छे चाहियो भन्यो भने जसको नाम आउँछ, उसलाई चाहिँ कारबाही गर्छु । दण्डहीनताको अन्त्य र फरार अपराधीको नियन्त्रणमा तत्काल देखिने गरी काम गर्नुहोस ।

१०. अबको ९० दिनमा गृह मन्त्रालयका हरेक सूचक माथि जानुपर्छ । गएन भने गम्भीर समीक्षा हुन्छ । र, काममा आलटाल गर्ने, निर्देशन पालना र लक्ष्य पूरा नगर्नेको मूल्यांकन हुन्छ ।