जनता टाइम्स

२ चैत्र २०८०, शुक्रबार १५:१०

महरा र एआइजी बज्राचार्यसहित यी हुन सुन तस्करी प्रकरणमा कारबाही सिफारिस भएका १२ ठूला माछा


सुन तस्करी प्रकरणमा छानविन गर्न गठित जाँचबुझ आयोगले पूर्वसभामुख महरा, सिआइवी प्रमुख एआइजी बज्राचार्यसहित एसपी र डिएसपीदेखि सरकारी वकिल कार्यालयका अधिकारीसमेतलाई दोषी ठहर गर्दै कार्वाहीको सिफारिश गरेको छ

गणेश बस्नेत/काठमाडौं । अन्तराष्ट्रिय बिमानस्थलबाट सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले उच्चपदस्थ १२ जनालाई कारबाही गर्न सिफारिस गरेको छ ।

पूर्वन्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा गठित आयोगले पाँच महिनापछि काम सम्पन्न गरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई छानबिन प्रतिवेदन बुझाउँदै कार्वाहीको सिफारिश गरेको हो । आयोगले बिहीवार गृहमन्त्री लामिछानेलाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।

नेकपा एमालेको लगातारको संसद अवरोध र दवावपछि सरकारले गत असोजमा आयोग गठन गरेको थियो ।आयोगले छानबिनबाट सुन प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित १२ जना दोषी देखिएको उल्लेख गर्दै कारबाहीका लागि सिफारिस गरेको हो ।

आयोगको प्रतिवेदनमा उल्लेख भएअनुसार पूर्वसभामुख महरासहित ठमेलको छाया सेन्टरमा वाल्डो क्यासिनो सञ्चालन गरिरहेका चिनियाँ नागरिक टेरेन्स टिएचसी, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालयका परराष्ट्र विज्ञ जीवन गुरूङ, विध ल्याबका सञ्चालक भीमकान्त भण्डारी र जीवन चलाउने तथा होटल भियनाका सञ्चालक मन्जिल श्रेष्ठलाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको छ । यसैगरी सरकारी वकिल कार्यालयका बासुदेव शर्मा र जनकराज घिमिरेलाई पनि प्रतिवेदनले दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको छ ।

यस्तै नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्य, प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा, प्रहरी नायव उपरीक्षकद्वय (डिएसपी) रूगम कुँवर र दुर्गा दाहाललाई पनि कार्वाहीको सिफारिश गरेको छ । सुन तस्करी प्रकरणमा दोषी ठहर गर्दै उनीहरूलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको हो । एआइजी बज्रचार्यसहितका प्रहरीले सुन तस्कर जोगाउने भूमिका खेलेको देखिएको प्रतिवेदनमा किटानी गरिएको छ ।

एआइजी बज्राचार्य दोषी ठहर भएसँगै पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि पनि गम्भीर प्रश्न उठेको छ । बज्रचार्यले सवै काम मन्त्री श्रेष्ठकै निर्देशनमा गरेको बयान दिनुभएको स्रोतले जनाएको छ । आयोगका सदस्यहरुका अनुसार एआइजी बज्राचार्यसहितका सिआइवीका अधिकृतहरुले सुन तस्करीको अनुसन्धानमा हदैसम्मको बेइमानी गरेको पाइएको छ ।

‘सुन तस्करीको छानविन होइन, तस्कर जोगाउने काममा सिआइवी लागेको देखियो । यो हदसम्मको बदमासी होला भन्ने अपेक्षासमेत गरिएको थिएन,’ एआइजी बज्रचार्यसहितका अधिकारीमाथि कार्वाही सिफारिशको बिषयमा आयोगका एक सदस्यले जनताटाइम्स डटकमसँग भने । ती सदस्यका अनुसार बज्रचार्यसहितका अधिकारीहरु तस्कार जोगाउने मतियार बनेको पाइएको छ ।

आयोले प्रतिवेदन बुझाएपछि तत्कालै आफूले अध्ययन सकाएर उपप्रधान तथा गृहमन्त्री लामिछानेले आज बिहानै बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाउनु भएको छ । सो प्रतिवेदन बुझेर गृहमन्त्रीबाट ब्रिफिङ लिएपछि प्रधानमन्त्री दाहालले आयोगले दोषी ठहर गरेकाहरूलाई कारबाही गर्न अगाडि बढ्न निर्देशन दिनुका साथै आजै मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ ।

प्रधानमन्त्री दाहालसँगको सो छलफलपछि यस्तै गृहमन्त्री लामिछानेले आज बिहान नै दोषी देखिएका एआइजी बज्राचार्यसहित प्रहरीमाथि कारबाही प्रक्रिया अगाडि बढाउन गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निर्देशन दिनुभएको छ ।

गृहमन्त्रीको निर्देशनपछि एआइजी बज्राचार्य लगायतका प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले विभागीय कारबाही प्रक्रिया अगाडि बढाएको छ । सुन तस्करीमा संलग्नाई जोगाउन सिआइवीकै प्रमुख लागेको घटना उजागर भएप्छि प्रहरी महानिरीक्षक कुँवर निकै गम्भीर बन्नुभएको प्रहरी स्रोतले बताएको छ । एआइजी बज्राचार्यले तस्करीमा संलग्न अभियुक्तलाई प्रमाण हुँदाहुँदै छाडेको पाइएको हो । बज्राचार्य तात्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग मिलेर यो काम गरेको तथ्यसमेत छानविनबाट उजागर भएको छ ।