जनता टाइम्स

८ आश्विन २०७६, बुधबार १३:१८

तथ्यले देखायो ओली सरकारको कामको परिणाम : ३८७ प्रतिशतले बढ्यो विदेशी लगानी


काठमाडौं, असोज ८ । चालू आर्थिक वर्ष सुरु भएसँगै बिदेशी लगानी ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनले यो तथ्य सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकका अनुसार साउन महिनामा मात्रै एक अर्ब ४४ करोड १० लाख रुपैयाँ विदेशी लगानीबापत नेपालले प्राप्त गरेको छ । अघिल्लो आर्थिक वर्षको साउनमा यस्तो लगानी केवल २९ करोड ५७ लाख रुपैयाँ मात्र रहेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा प्राप्त भएको यो विदेशी लगानी तीन सय ८७ प्रतिशतले बढी हो । नेपालले गत आर्थिक बर्षमा १३ अर्ब ६ करोड रुपैयाँ विदेशी लगानी प्राप्त गरेको थियो । त्यो भन्दा अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा १७ अर्ब ५१ करोड रुपैयाँ विदेशी लगानी नेपाल भित्रिएको थियो । सरकारले यसबीचमा गत फागुनमा विदेशी लगानी भित्र्याउने उद्देश्यसहित दोस्रो पटक विदेशी लगानी सम्मेलन आयोजना गरेको थियो ।

सम्मेलनमा ३० खर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानी प्राप्त भएको थियो । सरकारले सुरुदेखि नै बिदेशी लगानी भित्र्याउन थालेको पहल स्वरुप यो परिणाम आएको हो । राष्ट्र बैंकका अनुसार साउनमा पर्यटकबाट हुने आय, विपे्रषणमा पनि वृद्धि भएको छ । गत साउनमा पर्यटकबाट चार अर्ब ३८ करोड रुपैयाँ आम्दानी भएको यस वर्षको साउन महिनामा ७.६ प्रतिशत वृद्धि भई चार अर्ब ७१ करोड रुपैयाँ आम्दानी पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । विपे्रषणमा भने दुई प्रतिशतको मात्र वृद्धि भएको छ । नेपालले यो बर्षको साउनमा ७५ अर्ब ४० करोड रुपैयाँ बिप्रेषण प्राप्त गरेको छ । अघिल्लो साउनमा यस्तो रकम ७३ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो ।

विदेशी लगानीसहित विभिन्न शीर्षकमा भएको वृद्धिले मुलुकको शोधनान्तर अवस्था यसपटक ६ अर्ब पाँच करोड रुपैयाँले बचत देखिएको छ । गत साउनमा यस्तो घाटा २४ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो । त्यस्तै गत आर्थिक वर्षको अन्त्यमा यस्तो घाटा ६७ अर्ब ४० करोड रुपैयाँ पुगेको थियो । यस्तै स्थिति चालू आवको पहिलो महिनामा छ अर्ब पाँच करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । चालू खाता घाटा भने नौ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । कुल विदेशी मुद्रा सञ्चिति पनि बढेको छ । विदेशी मुद्रा सञ्चिति असार मसान्तमा १० खर्ब ३८ अर्ब रुपैयाँ रहेकोमा साउनमा बढेर १० खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै वैदेशिक व्यापारको अवस्थामा पनि सुधार देखिएको छ । निर्यात २७.७ प्रतिशतले बढेर आठ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । गत साउनमा यस्तो वृद्धिदर केवल ३.२ प्रतिशत मात्र थियो । आयात ११.५ प्रतिशतले घटेर एक खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो साउनमा ५४.३ प्रतिशतले बढेको थियो । व्यापार घाटा १३.९ प्रतिशतले संकुचन भई ९७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भिजनअनुसार अर्थमन्त्री डा. युवराज खतिवडाले बनाएको योजनाका कारण बिदेशीलगानीमा उल्लेख्य बृद्धि भएको हो ।