काठमाडौं, चैत ४ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०६६ सालमा पुष्पकमल दाहाल नेतृत्वको सरकारले सत्ता कब्जा गर्ने शैली अपनाएपछि संबिधानले नदिएको अधिकार प्रयोग गरेको बताउनु भएको छ ।
सरकारको आपत्तिजनक कदमकै कारण त्यसबेला मुलुकलाई लोकतान्त्रिक धारमा लान आफूले घुमाउरो बाटो लिएको यादवले बताउनु भएको हो । भारतीय प्राध्यापक एसडी मुनीद्वारा लिखित पुस्तक ‘ड्याबलिङ इन डिप्लोमेसी’ पुस्तकको अन्तरक्रियामा विश्लेषक सीके लालले सेनापति थमौतीको घटनामाथि टिप्पणी गरेपछि पूर्वराष्ट्रपति यादवले यस्तो तथ्यसहित जवाफ दिनुभयो ।
दाहाल नेतृत्वको सरकारले त्यसबेलाका प्रधानसेनापति रुक्मांगत कटवाललाई हटाउने प्रस्ताव गरेपछि तत्कालीन राष्ट्रपति यादवले अस्वीकार गर्नुभएको थियो । मन्त्रिपरिषदको निर्णय अस्वीकार गर्ने अधिकार राष्ट्रपतिलाई नभए पनि उहाँले सरकारको निर्णय उल्ट्याउनु भएको थियो । त्यसबेला कार्यकारी प्रधानमन्त्रीले गरेको निर्णयलाई संवैधानिक राष्ट्रपतिले रोकेको भन्दै यादवको आलोचना भएको थियो ।
यही बिषयमा उहाँले पहिलो पटक मुख खोल्नुभएको हो। ‘निश्चय नै त्यसबेला संविधान मिचियो । बाबुरामजीहरुले क्याप्चर गर्न थाल्यो, त्यसपछि मैले घुमाउरो बाटो अपनाएको हुँ । मैले देशलाई लोकतान्त्रिक धारमा लानको लागि थियो,’ यादवले भन्नुभयो, ‘उहाँहरु (पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईतिर इंकित गर्दै) त्यस बेला अर्कै धारमा हुनुहुन्थ्यो । मैले त्यो अलि मोडिदिएको हुँ ।’
त्यस बेलासमेत प्रधानमन्त्री रहनुभएका दाहालले तत्कालीन प्रधानसेनापति कटवाललाई हटाएर कुलबहादुर खड्कालाई नयाँ प्रधानसेनापति बनाउने निर्णय लिनुभएको थियो । पछि राष्ट्रपति यादवले आफ्नो प्रस्ताव अनुमोदन नगरेपछि दाहालले दाहोरो सत्ता स्थापित भयो भन्दै राजीनामा दिनुभएको थियो ।
यादवले त्यसबेला मुलुकमा नेपाली सेना र माओवादी लडाकुसहित दुई सेना रहेको र त्यस परिस्थितिमा उक्त कदम नलिनको लागि आफूले ४ पटकसम्म बोलाएर लिखित रुपमै जानकारी गराएको खुलासा गर्नुभयो । ‘चार पटकसम्म बोलाएर लिखित रुपमै जानकारी दिँदा पनि उहाँहरुले मान्नुभएन, त्यसपछि मैले मुलुकको लोकतन्त्रलाई बचाउनको लागि उक्त कदम चालेको हुँ,’ यादवले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्