जनता टाइम्स

४ चैत्र २०८०, आईतवार १३:२७

दुईपक्षीय सहमतिपछि शिक्षकको आन्दोलन स्थगित


रौतहट ४ चैत । रौतहटको फतुवा विजयपुर नगरपालिका र आन्दोलनरत शिक्षकबीच दुईपक्षीय सहमति भएपछि आन्दोलन स्थगित गरिएको छ । तलबको माग गर्दै आन्दोलनमा उत्रिएका फतुवा बिजयपुर नगरपालिकाका शिक्षकहरूले धर्ना स्थगित गरेका छन् । आन्दोलनरत शिक्षक र नगरपालिकाबीच सहमति भएसँगै शिक्षकहरुले जारिराखेको धर्नाको कार्यक्रम स्थगित गरिएको हो ।

रौतहट निर्वाचन क्षेत्र–३ ख का प्रदेश सांसद सुनिल यादव (जितेन्द्र) को पहलमा कार्यवाहक नगर प्रमुख अम्बेया खातुन, प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान र आन्दोलनरत शिक्षकको बीचमा होली पर्वअगावै सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको तलब उपलब्ध गराउने शुक्रबार साँझ सहमति भएको शिक्षक संघका नगर अध्यक्ष राधेश्याम यादवले बताउनुभएको छ । सोही सहमतिको आधारमा फतुवा बिजयपुर नगरक्षेत्रअन्तर्गतको ३२ वटै विद्यालयमा कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षा आज एकदिन स्थगित गरिएको माबि विजयपुरको प्रधानाध्यापक शंकर राय यादवले जानकारी दिनुभयो ।

भोलिदेखि सम्पूर्ण विद्यालयमा परीक्षा सञ्चालन गर्ने र छुटेका विषयको अन्तिममा परीक्षा लिने सहमति भएको उहाँले बताउनुभयो । फतुवा विजयपुर नगरक्षेत्र अन्तर्गतका ३२ विद्यालयका शिक्षा, कर्मचारी र अन्य क्षेत्रका कर्मचारी गरी ३५० जनाले गत साउनदेखि हालसम्म तलब नपाएको कारण गत बुधबारदेखि नगरपालिका अगाडि धर्नामा बस्दै आउनुभएको थियो । फतुवा बिजयपुरका निर्वाचित मेयर नेपाली कांग्रेसका गोपाल राय यादव नदीको टेन्डरमा दोषी ठहर भएर विशेष अदालतबाट दण्ड सजायको फैसला भएपछि उनको पद जाँदा कांग्रेसकै निर्वाचित उपमेयर अम्बेया खातुन कार्यवाहक मेयर बन्नुभएको थियो ।

उहाँले कार्यवाहकको जिम्मेवारी पाएपछि कांग्रेसकै वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुसँग पटक–पटक विवाद भएर गत असार १० गतेभित्र हुनुपर्ने नगरसभा ५ महिना ढिलो भएको कारण नगरको सम्पूर्ण आर्थिक कारोबार बन्द भएको छ । कार्यवाहक मेयर खातुन र उपसचिव प्रधानको सक्रियतामा सामाजिक सुरक्षाभत्ता वितरण भए पनि कर्मचारी तथा शिक्षकले हालसम्म तलब पाउन सकेका छैनन् । लगातार ९ महिनादेखि तलब पाउन नसकेका शिक्षक कर्मचारी होली पर्व कसरी मनाउने भनेर ठूलो चिन्ता भएको बताइरहेका छन् । फतुवा बिजयपुर नगरपालिका स्थापित भएदेखि नै शिक्षक कर्मचारी तलब पाउनकै लागि बर्सेनि आन्दोलन गर्नुपर्ने बाध्यता रहेको छ ।