जनता टाइम्स

६ चैत्र २०८०, मंगलवार १८:३६

वीरगंज महानगरले कक्षा ८ को परीक्षा एकिकृत परीक्षा प्रणाली मार्फत लिदैं


वीरगंज, ६ चैत्र । वीरगंज महानगरपालिकाले यस वर्षबाट एकीकृत परीक्षा प्रणालीमार्फत आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षा लिने भएको छ । चैत १५ गतेदेखि सुरु हुने कक्षा ८ को महानगरस्तरीय परीक्षाका लागि महानगरको परीक्षा समितिले ११ वटा परीक्षा केन्द्र तोकेको छ । जसमा ६ वटा सामुदायिक विद्यालय र ५ वटा संस्थागत विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको महानगरका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयतर्फ त्रिजुद्ध मावि, नृसिंह मावि, श्रीपुर मावि, शारदा मावि बहुअरी, माइस्थान विद्यापिठ मावि र नेरा मावि सोलकपुरमा परीक्षा केन्द्र निर्धारण गरिएको छ भने संस्थागत विद्यालयतर्फ सनलाईट मावि, मिनिल्याण्ड मावि, कादम्बरी एकेडेमी, जीएचपी मावि र ओम नेशनल स्कूललाई परिक्षा केन्द्र निर्धारण गरिएको कर्णले जानकारी दिनुभयो । यसवर्ष कक्षा ८ को महानगरस्तरीय वार्षिक परिक्षामा ३६ वटा सामुदायिक विद्यालयका ३ हजार १४१ जना र ८२ वटा संस्थागत विद्यालयका २ हजार ५२१ जना गरी कूल ५ हजार ६५७ जना विद्यार्थीले सहभागिता जनाउने कर्णले बताउनुभयो ।

चैत १५ देखि २२ गतेसम्म सञ्चालन हुने परीक्षालाई निष्पक्ष, शान्तिपूर्ण रुपमा सम्पन्न गराउन आज महानगरको परीक्षा समितिले ११ वटै केन्द्रमा केन्द्राध्यक्ष नियुक्त गर्नुका साथै उनीहरूका काम कर्तव्यका बारेमा जानकारी गराएको छ । परीक्षा सकिएपछि परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच गरी नतिजा तयार पारी चैत २८ गते सार्वजनिक गरिने कर्णले जानकारी दिनुभयो । आधारभूत तहबाटै अध्ययन अध्यापनलाई प्रभावकारी बनाउन र शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले महानगरमा पहिलो पटक एकीकृत परीक्षा प्रणालीबाट आधारभूत तहको बार्षिक परीक्षा लिन लागेको महानगरका शिक्षा महाशाखा प्रमुख कर्णले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘विगतमा जुन विद्यालयमा अध्ययन गरेको हो सोही विद्यालयले नै परीक्षा लिएर उत्तरपुस्तिका पनि सम्बन्धित विद्यालयले जाँच गर्ने गर्थ्यो, त्यसमा केहि विद्यालय र शिक्षकहरुबाटै चलखेल हुन्थ्यो । ती सबै विकृति अन्त्य गर्न यसपालिदेखि महानगरले एकिकृत माध्यमबाट परीक्षा लिन लागेको हो ।’ कर्णका अनुसार एकीकृत परीक्षा प्रणाली सुरु भएसँगै अब भने अध्ययन अध्यापन सम्बन्धित विद्यालयले गर्ने र त्यसको मूल्यांकन तेस्रो पक्षबाट हुनेछ ।

विद्यार्थीको सिकाई मापन तेस्रो पक्षबाट हुँदा निष्पक्ष र यथार्थपरक हुने भएकाले महानगरले यस वर्षबाट एकीकृत परीक्षा प्रणाली सुरु गरेको महाशाखा प्रमुख कर्णले बताउनुभयो । आज नवनियुक्त केन्द्राध्यक्षहरुलाई महानगरकान मेयर राजेशमान सिंहले नियुक्तीपत्र प्रदान गर्दै आधारभूत तहको अन्तिम परीक्षा निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन निर्देशन दिनुभयो ।