जनता टाइम्स

८ आश्विन २०७६, बुधबार १४:२०

दलित पत्रकार सङ्घद्वारा तीन पुरस्कार स्थापना


काठमाडौं, असोज ८

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले दलित आन्दोलन र पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने तीन दलित नेताको नाममा पत्रकारिता पुरस्कार स्थापना गरिएको छ । “हालै सम्पन्न सङ्घको बैठकले लामो समय आन्दोलनमा सक्रिय नेता एवम् लेखक/पत्रकार टिआर विश्वकर्माको सम्मानमा टिआर विश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार स्थापना गरिएको छ”, सङ्घका अध्यक्ष विनोद पहाडीले भन्नुभयो । सङ्घ देशभर क्रियाशील करीब एक हजार २०० दलित समुदायका पत्रकारको छाता सङ्गठन हो ।

अध्यक्ष पहाडीका अनुसार सङ्घले राणाशासनका विरुद्ध आन्दोलन चलिरहँदा कुचिकारको काम गर्दै कारागारबाट गणेशमान सिंहलगायतका नेताको चिठी आदानप्रदान गर्ने राममाया च्यामेको सम्मानमा ‘राममाया च्यामे लोक पत्रकारिता पुरस्कार’ समेत स्थापना गरेको छ । त्यसैगरी सङ्घले नेपाली काङ्ग्रेसका संस्थापक महामन्त्री लेखक एवं नेपाली चलिचत्रका पहिलो निर्देशक देवव्रत परियार (डिबी परियार) को सम्मानमा ‘देवव्रत परियार स्मृति राष्ट्रिय पुरस्कार’ पनि स्थापना गरेको छ ।

सो पुरस्कार सङ्घको स्थापना दिवसको अवसरमा प्रदान गरिनेछ । त्यसैगरी सङ्घले प्रदेश नम्बर १ मा पर्वत पोर्तेल, प्रदेश नम्बर २ मा भोला पासवान, ३ मा भीमबहादुर घिमिरे, गण्डकी प्रदेशमा दीपक परियार, प्रदेश नं ५ मा सोना खटिक, कर्णाली प्रदेशमा अमर सुनार र सुदूरपश्चिम प्रदेशमा मिलन परियालाई प्रदेश इञ्चार्ज नियुक्त गरेको छ ।