जनता टाइम्स

७ चैत्र २०८०, बुधबार १९:४१

धमाधम खारेज हुन थाल्यो पूर्वमन्त्री भण्डारीको निर्णय, श्रममन्त्री अर्यालले खारेज गरे यी चार निर्णय


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले अघिल्ला मन्त्री शरतसिंह भण्डारीले आर्थिक लाभका आधारमा गरेको निर्णय धमाधम खारेज गर्नुभएको छ । मन्त्री अर्यालले भण्डारीले गरेको ४ निर्णय खारेज गरिसक्नुभएको हो ।

काठमाडौं, चैत ७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद (डीपी) अर्यालले पूर्वमन्त्री शरतसिंह भण्डारीले गरेको निर्णयहरू धमाधम खारेज गर्न थाल्नुभएको छ । मन्त्री अर्यालले अध्ययन समितिले दिएको सुझावका आधारमा भण्डारीले गरेको निर्णय खारेज गर्नुभएको हो ।

पदभार ग्रहणलगत्तै श्रममन्त्री अर्यालले पूर्वमन्त्री भण्डारीले आर्थिक लाभका आधारमा निर्णय लिएको भेटिएको भन्दै सहसचिवको नेतृत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गर्नुभएको थियो । मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय कार्यदलले यसबारे प्रारम्भिक चरणमा दिएको सुझावका आधारमा मन्त्री अर्यालले विवादित रहेका निर्णयहरूलाई धमाधम खारेज गर्नुभएको हो ।

पूर्वमन्त्रीले आफ्नो कार्यकालमा गरेको सवै निर्णय अध्ययन गरी सुझाव दिन रिजाल नेतृत्वको अध्ययन समितिलाई निर्देशनसमेत मन्त्री अर्यालले दिनुभएको छ । मन्त्रालय स्रोतले जनताटाइम्स डटकमलाई दिएको जानकारी अनुसार रिजाल नेतृत्वको समितिले पूर्वमन्त्री भण्डारीले गर्नुभएको एकएक निर्णयको अध्ययन गरिरहेको छ ।

‘निर्णयहरु अध्ययन गर्दा कँही न कँही आर्थिक लाभका आधारमा गरिएको देखिन्छ । मन्त्रीले आर्थिक प्रलोभनमा परेर काम गरेको पाइएको छ,’ समितिका एक सदस्यले जनताटाइम्स डटकमसँग भने । पूर्वमन्त्री भण्डारीको आर्थिक चलखेल भेटिएकै कारण मन्त्री अर्यालले कतिपय निर्णयलाई खारेज गर्नुभएको छ भने कतिपयलाई पुनरावलोकनको तयारी थाल्नुभएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिमका लागि ७ सय रूपैयाँ शुल्क तोकिएकोमा पूर्वमन्त्री भण्डारीले कार्यविधि संशोधन गरेर २८ सय रूपैयाँ पुर्याउनु भएको थियो । जसमा २१ सय तालिम शुल्क र ७ सय रूपैयाँ परीक्षा शुल्क भनेर तोकिएको थियो । भण्डारीको बदमासी बाहिर आएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठाडो निर्देशनपछि उक्त निर्णय कार्यान्वयनमा जान सकेको थिएन ।

श्रममन्त्री अर्यालले नयाँ निर्णय नहुँदासम्म तालिम शुल्क ७ सय रूपैयाँ नै कायम गर्नुभएको छ । ‘अर्को निर्देशन नहुँदासम्मका लागि अभिमुखीकरण तालिमको शुल्क ७ सय नै तोकिएको छ । यस विषयमा मन्त्रालयले निर्माण गरेको कार्यदलले अध्ययन गरिरहेको छ । अध्ययनपछि मूल्यवृद्धि गर्ने या नगर्ने विषयमा निर्णय हुनेछ,’ मन्त्री अर्यालको भनाई छ । यस्तै कोरिया ई–७ भिसा कार्यान्वयनमा पनि मन्त्री अर्यालले रोक लगाउनु भएको छ ।

पूर्वमन्त्री भण्डारीले गरेको अर्को विवादित निर्णय कोरियाको ई–७ भिसामा मन्त्री अर्यालले रोक लगाउनु भयो । सन २००८ देखि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेर ई–९ भिसा मार्फत नेपालीहरू काम गर्न कोरिया जाने गरेका छन् । ईपीएस भाषा परीक्षा पास गरेर हालसम्म १ लाखभन्दा बढी नेपाली कोरिया पुगिसकेका छन । तीमध्ये ४० हजारभन्दा बढी नेपाली श्रमिक हाल कोरियामा कार्यरत रहेका छन ।

भण्डारीले दक्ष कामदारलाई कोरिया जान पाउने बाटो खोल्ने भन्दै कार्यविधि बनाउनु भएको थियो । सो निर्णय पनि प्रधानमन्त्री दाहालले उल्ट्याउँदै ईपीएस जसरी नै ई–७ भिसाका लागिसमेत सम्झौता गर्न निर्देशन दिनुभएको थियो । तर, प्रधानमन्त्रीको निर्देशन विपरीत मन्त्री भण्डारीले मेनपावर व्यवसायीमार्फत कामदार पठाउने गरी कार्यविधि ल्याउनु भएको थियो । कोरियासँग कुनै सम्झौता नगरी सिपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि भण्डारीले गत फागुन १७ गते स्वीकृत गर्नुभएको थियो ।

सरकारबाट बाहिरिनु भन्दा केही दिनअघि उहाँले गरेको सो निर्णय कार्यान्वयनमै नआइ सरकार ढल्यो । यो निर्णय फागुन २९ गतेमात्रै सार्वजनिक भएको छ । अर्याल फागुन २३ गते मन्त्री बनेको अवस्थामा सो कार्यविधि फागुन २९ गते वेबसाइटमार्फत सार्वजनिक गरिएको थियो । तर अहिले सो कार्यविधि वेबसाइटबाट हटाइसकिएको छ । मन्त्री अर्यालले उक्त कार्यविधि समेत तत्कालका लागि रोक्नुभएको हो ।
तत्कालीन मन्त्री भण्डारीले जापान र इजरायलमा समेत मेनपावर व्यवसायीमार्फत कामदार पठाउन पाउने गरी लिनुभएको निर्णय पनि रोकिएको छ । इजरायलमा हाल जी–टु–जी र ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत मात्रै नेपाली श्रमिक जाने गरेकोमा भण्डारीले मेनपावर व्यवसायीमार्फत समेत कामदार पठाउनेगरी निर्णय गर्नुभएको थियो । सोही आधारमा कृषि क्षेत्रका लागि २ सय जनाको डिमाण्ड आएर पूर्व स्वीकृतिको काम अघि बढाइएको थियो ।

इजरायलका लागि माग ल्याउन मेनपावर काठमाडौँ इन्टरनेशनल इन्टरप्राइजेजले अन्तर्वार्ता लिने काम समेत सकिसकेको छ । यस्तो अवस्थामा मन्त्री अर्यालले उक्त कार्य समेत रोक्नुभएको छ । मन्त्री अर्यालको यो निर्णयले भण्डारीसँग मिलेमतो गरेको सो मेनपावर कम्पनीको लगानी खेर जाने देखिएको छ । भण्डारीले राम्रो डिल गरेर यो निर्णय गर्नुभएको मन्त्रालयका अधिकारीहरुको बुझाइ छ ।

यसैगरी जापानमा मेनपावर व्यवसायीमार्फत कामदार पठाउने निर्णयसमेत मन्त्री अर्यालले रोक्नुभएको छ । जनताटाइम्स डटकमले यसअघि नै पूर्वमन्त्री भण्डारीले पदीय दुरुपयोग गरी आर्थिक लाभका आधारमा दर्जनौं निर्णय गरेको समाचार प्रकाशन गरेको थियो । सो समाचारपछि मन्त्री अर्यालले पुराना निर्णयमाथि छानविन अघि बढाउनु भएको र कतिपय निर्णय खारेज गर्नुभएको हो ।

यो समाचार पनि पढनोस

पूर्वमन्त्री भण्डारीको निर्णय उल्ट्याउँदै श्रममन्त्री अर्याल, असुली धन्दाबारे छानविन गर्न बन्यो समिति